पाल्पा । तानसेन नगरपालिकाभित्रका महिलाहरुले घाँस खेतीबाट प्रशस्त आम्दानी हुने भएपछि यहाँका महिलाहरु व्यावसायिक रुपमा घाँस खेतीतर्फ लागिपरेका हुन । तानसेन नगरपालिका–५ अर्चलेका महिलाहरुले सामुहिक तथा नीजि रुपमा व्यावसायिक रुपमा घाँस खेती गरी १५ हजार देखि २५ हजार सम्म आम्दानी गर्न थालेपछि उत्साहित भएका हुन ।
तानसेन–५ अर्चलेकी मीना सोमैले झण्डै आठ रोपनीमा सुपर नेपिर र मुलाटो घाँस खेतीबाट पहिला वर्ष नै २० हजार आम्दानी गर्न पाउँदा खुसी लागेको बताइन । घाँस खेतीबाट आम्दानी हुने भएपछि आगामी वर्ष अझै धेरै घाँस खेती गर्ने योजना रहेको उनीले बताइन । सुपर नेपिर र मुलाटो घाँस खेती खेतबारीलाई हेर्न लायकको भएको छ । हरियालीसँगै आम्दानी समेत भएको उनको भनाई छ । सुपर नेपियरको तीन आँख्लालाई ५ रुपैयाँमा विक्री हुँदै आएपछि महिलाहरु उत्साहित भएको हो ।
तानसेन नगरपालिका, संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडीपी) र ग्रामीण आर्थिक विकास संघको सहयोग तालिम, घाँसको बीउ लगायतको सहयोग पाएपछि यहाँका महिला व्यवसायिक रुपमा घाँस खेती गरी गरीबी हटाउन लागिपरेका हुन । तानसेन–५ अर्चलेस्थित आदर्श स्वालम्वन महिला समुहले गरेको व्यावसायिक घाँस खतीबाट यसपालि दुई लाख आम्दानी गर्न सफल भएको समुहकी अध्यक्ष निर्मला हमालले बताइन ।
घाँस बिक्रीबाट संकलन भएको रकम समुहका महिला सदस्यहरुको हितमा लगानी गर्दै आएको छ । बाख्रा तथा कुखुरापालनका निम्ति खोर निर्माण गर्न ऋण सहयोग गर्दै आएको समुहकी सदस्य लेखकुमारी सोमैले बताइन ।
ग्रामीण आर्थिक विकास संघ रेडाका कार्यकारी निर्देशक लिला बहादुर कार्कीले ग्रामीण क्षेत्रमा बसोबास गर्ने महिलाहरुले घाँस खेती गरी आम्दानी गरेसँगै सामाजिक साँस्कृतिक, आर्थिक हैसियत सुधार भएको बताए ।
तानसेन नगरपालिकाभित्र रहेका ५ समूह मार्फत गरिएको घाँस खेतीबाट झण्डै सय भन्दा बढी लाभान्वित भएको संघले जनाएको छ । संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडीपी) का अनुगमन विज्ञ दिनेश विष्टले घाँस खेतीको अनुगमन गरी हौसला थपेका छन् । व्यावसायिक रुपमा घाँस खेती गर्ने महिलाहरुको खेतबारीमा पुगेर घाँस खेती गर्ने महिलालाई हौसला प्रदान गरेपछि महिलाहरु पनि उत्साहित देखिएको हो ।