तानसेन नगरपालिका र मुक्तिनाथ विकास बैंकबीच बैंकिङ्ग सहजकर्ता सम्बन्धि सम्झौता

तानसेन। तानसेन नगरपालिका र मुक्तिनाथ विकास बैंक, पाल्पा शाखा बीच बैंकिङ्ग सहजकर्ता सम्बन्धि सम्झौता भएको छ ।

तानसेन नगरपालिका जमानी बसीमा पूँजीको अभावमा भौतारिका बेरोजगार युवालाई सहुलियत ब्याजदरमा बैंकले ऋण प्रवाह गर्ने जनाएको छ ।

पूँजी अभावमा उद्यमी हुन बन्चित हुनु नपरोस भनी मुक्तिनाथ बिकास बैंक पाल्पा शाखा र तानसेन नगरपालिकाबीच बैंकिङ्ग सहजकर्ता सम्बन्धि सम्झौतापत्रमा तानसेन नगरपलिकाका प्रमुख प्रशासकीय अधिकृत पिताम्बर पाण्डे र बैकका शाखा प्रबन्धक टेकराज ज्ञवालीले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्।

बैंकसंगकाे सम्झाैता पछि बाेल्दै तानसेन नगरपालिकाका प्रमुख अशोक कुमार शाहीले  सीप भएर पनि आर्थिकको अभावमा व्यवसाय गर्नबाट बञ्चित भएका युवाहरुलाई पूँजीको अभाव नहुने बताएका छन्।

व्यावसायिक योजना सहित तानसेन नगरपालिका आए, त्यस्ता युवालाई नगरपालिका जमानी बसी बैंक मार्फत व्यावसायिक कर्जा प्राप्ति गर्न सक्ने नगर प्रमुख शाहीले बताए ।

सहुलियत ब्याजदरमा कर्जा लगेका युवाहरुको तानसेन नगरपालिका, बैंक र वडा तहबाटै अनुगमन गरी हुने उनकाे भनाइ छ ।

ग्रामीण आर्थिक बिकास संघ (रेडा)का कार्यकारी निर्देशक लिला कार्कीले युवाहरु सीप, बजार र पुँजीको अभावले भौतारिनु नपर्ने बताए । सहज र सरल तरिकाबाट युवाले ऋण पाएपछि व्यवसायहरु फस्टाउने कार्कीले बताए ।

मुक्तिनाथ विकास बैंकका तानसेन शाखा प्रबन्धक टेकराज ज्ञवालीले नगरभित्रका सीप भएका र व्यावसायिक योजना भएका युवालाई पुँजी अभावका कारण उद्यमी हुनबाट बन्चित हुन नपर्ने गरि कर्जा उपलब्ध गराउने बताए  ।

तानसेन नगरपालिकाले नेपाल बैंक लिमिटेड, ग्लोवल आएमइ बैंकसँग सहुलियत ब्याजदरमा कर्जा लगानी गर्न सम्झौता गरेको थियो । कृषि तथा पशुपालनका क्षेत्रमा युवाहरुको आकर्षण बढाउन नगरपालिकाले सहुलियत ब्याजदरमा कर्जा प्रवाह गर्न थालेको नगरपालिकाले जनाएकाे छ ।

तपाईको प्रतिक्रिया