आजदेखि शुरु भयो तिहार, काग र कुकुर तिहार भोली

काठमाडौं । प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि शुरु हुने नेपाली हिन्दूहरूको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि शुरु भएको छ ।

मङ्गलबार बेलुकी यमदीपदान शुरु गरेपछि तिहार सुरु हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । यस वर्ष यमदीपदान आजदेखि शुरु हुने भए पनि काग र कुकुर तिहार भने भोली अर्थात कात्तिक १७ गते बुधबार परेको समितिले जनाएको छ । बेलुकी त्रयोदशी तिथि परेका दिन यमदीपदान शुरु हुन्छ ।

बुधबार बिहान ७ः१४ बजेसम्म त्रयोदशी तिथि रहेको छ । जस अनुसार त्रयोदशीमा सूर्योदय भएका दिन काग तिहार मनाइन्छ । बिहान ७ः १४ बजेपछि चतुर्दशी तिथि लाग्ने भएकाले कुकुरको पूजा एवं मीठा खाने कुरा खान दिने दिन पनि बुधबार नै परेको समितिले जनाएको छ ।

सायंकालमा त्रयोदशी भएका दिन यमदीपदान शुरु गर्नुपर्ने र प्रातः कालमा त्रयोदशी भएका दिन काग तिहार मनाउनुपर्ने शास्त्रीय व्यवस्था रहेको छ ।

यमपञ्चकका अवसरमा यमदीपदान गरे यमयातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता छ । यसैगरी धन्वन्तरी जयन्ती र धनतेरस पर्व पनि आजै परेको छ ।

यमदीपदान परिवारका सदस्य सङ्ख्याका आधारमा गरिन्छ । यमदीपदान गर्दा दक्षिण फर्काएर गर्नुपर्ने भनिएको छ । कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिनसम्म यमदीपदान गर्ने शास्त्रीय विधि छ ।

कात्तिक १८ गते बिहीबार बिहान नरक स्नानसहित लक्ष्मी पूजा गर्ने, बिहीबार बिहान अरुणोदयकालअघि अपामार्गसहित स्नान गरि यसलाई नरक स्नान गर्ने गरिन्छ । सोही दिन बिहान विधिपूर्वक स्नान गरेर बत्ती बालेर नदीमा बगाउनाले नरकको यातना सहनु नपर्ने शास्त्रीय मान्यता छ ।
गाई, गोरु र आत्म (म्ह) पूजा कात्तिक १९ गते शुक्रबार परेको छ । यसै दिनदेखि नेपाल संवत् ११४२ शुरु हुन्छ । यमपञ्चकको अन्तिम दिन कार्तिक २० गते शनिबार ११ः०२ बजे भाईटीकको उत्तम रहेको पनि समितिले जनाएको छ ।

तपाईको प्रतिक्रिया