तानसेन। पाल्पा, गुल्मी र स्याङ्जा जिल्लाको सङ्गमस्थल रूरू क्षेत्रधाम रिडीमा निर्माणाधीन तीनमुखे झोलुङ्गे पुलको निर्माण सात वर्षमा पनि पूरा हुन सकेको छैन ।

रुरु क्षेत्रको रिडीमा तीन जिल्ला जोड्ने पुल निर्माण कार्यले पर्यटक आकर्षण गर्ने सरकारको योजना थियो । पाल्पाको तानसेन नगरपालिका–१४, गुल्मीको रुरु गाउँपालिका–१ र स्याङ्जाको कालिगण्डकी गाउँपालिका–१ जोड्ने झोलुङ्गे पुल निर्माण भएपछि सो क्षेत्रको आवतजावत सहज हुने थियो ।

नयाँ बाटो रुविनामना जेबी निर्माण कम्पनीले विसं २०७१ मा पुल निर्माणसम्बन्धी सम्झौता गरेको थियो । सम्झौताअनुसार २०७४ असार ९ गते नै पुल निर्माणको काम पूरा हुनुपर्ने हो ।

कम्पनीले नौ करोड ८८ लाख २६ हजार ३०० रुपैयाा लगानीमा काम थालेको थियो । पुल निर्माण थालिएको सात वर्षको अवधिमा पाल्पातर्फको लठ्ठा र हिँड्ने पाता जोड्ने काम लगभग सम्पन्न हुन लागेको छ ।

कालीगण्डकी नदीमा आएको बाढीले पुल निर्माणका केही सामग्री बगाएको र लठ्ठा बटारिएको हुँदा निर्माणमा केही ढिलाइ भएको निर्माणकर्ता करन वर्माले बताए । वर्माले सहायक निर्माण व्यवसायीका रुपमा काम अगाडि बढाएको छन् ।  समयमा पैसा पाउन नसक्दा काम ढिला भएको गुनासो उनले गरे ।

नेपालीको चाडपर्व सकिएकाले अब छिटो काम सुरु हुने र अबको तीन/चार महिनामा पुलको सबै काम पूरा हुने वर्माको भनाइ छ । निर्माण पूरा भएपछि धार्मिक पर्यटकको चहलपहल हुने यस क्षेत्रका बासिन्दा उत्साहित थिए । समयमा पुल नबन्दा निरासा थपिएको स्थानीय बासिन्दा अमरप्रसाद कोइरालाले बताए ।

उनले धार्मिक पर्यटक आकर्षण गर्ने भनेर पुल निर्माणको काम थालिए पनि ढिलासुस्तीका कारण रुरु क्षेत्रको रिडी नराम्रो बनेको गुनासो गरेका छन् ।

तानसेन नगरपालिका–१४ का स्थानीय कमल सारुले पुल निर्माण सामग्री जथाभावी फालिएकाले धार्मिक क्षेत्रको सौन्दर्यता गुमेको बताए । काम ढिलासुस्ती हुने आर्थिक कारण प्रमुख रहेको निर्माण पक्षले दाबी गरी काम रोकिएको थियो ।

तपाईको प्रतिक्रिया