
पाल्पा ।कोभिड प्रभावित व्यक्तिहरु व्यवसायिक रुपमा बंगुर पालनप्रति आकर्षित बनेका छन् । जिल्लामा कोभिड १९ संक्रमणले स्वदेश तथा विदेशमा रोजगारी गुमाएका व्यक्ति तथा परिवारकार सदस्यहरु व्यवसायिक रुपमा बंगुरपालन व्यवसायमा आकर्षित भएका हुन ।
स्थानीय स्रोत र साधनको प्रयोग गरी खोर निर्माण गरी बंगुरका पाठापाठी पालनमा लागिपरेका हुन । कोभिडबाट स्वदेशका साना उद्योगी नराम्रोसँग प्रभावित हुनुपर्यो ।
तानसेन नगरपालिका १४ का कुसेनीका आनन्द परियारको रिडीमा रहेको सिलाई पसल पूर्ण रुपमा बन्द भयो । स्थानीय प्रशासनले निशेधाज्ञा लागु गरेपछि रिडीमा रहेको सिलाई पसल बन्द भएसंगै बंगुरपालन गर्न लागिएको परियारको भनाई छ । अहिले साँझ विहान बंगुरपालन व्यवसायलाई समय खर्चिने र दिउसोमा सिलाई पेशामा नै छन् ।
पाल्पाको तानसेन–१४, कुसेनीकै रमेश परियार कोरोना संक्रमणको जोखिम बढेपछि बेरोजगार भए । भारतमा होटलको जागिर गुमेपछि परियार स्वदेश फर्किए । गत वर्षको लकडाउनपछि परियार सात आठ महिना कामविहिन भए । उनी भन्छन्- ”काम विहिन हुँदा आर्थिकले समेत सताइरहेको थियो । अहिले फार्ममा १० ओटा बंगुर माउ हुर्किरहेका छन् । दश महिनाको अवधिमा बंगुरबाट पाठापाठी उत्पादन गर्ने तयारी रहेको छ ।” भारत तथा नेपालमा होटल व्यवसायमा भन्दा बंगुरपालन व्यवसाय राम्रो भएको परियारको दावी छ ।
तानसेन नगरपालिका, संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडीपी) र ग्रामीण आर्थिक विकास संघ (रेडा)द्धारा सञ्चालित कोभिड १९ को संक्रमणले रोजगारी गुमाएका, बेरोजगार युवाहरुमा सञ्चालित सामाजिक तथा आर्थिक पुनः प्राप्ति कार्यक्रमबाट बंगुरका पाठापाठी, खोर निर्माण र प्राविधिक सहयोग छ ।
कोभिड प्रभावितहरु बंगुरले उत्पादन दिन थालेसँगै उत्साहित हुन थालेका छन् । तानसेन नगरपालिका १४ का वडाध्यक्ष कमल रानाले कोरोना संक्रमणको उच्च जोखिमले स्वदेश तथा विदेशमा रहेका नेपालीहरुले रोजगारी गुमाउनु परेका युवा आर्थिक रुपमा सक्षम बनाउने बँगुरपालन व्यवसायमा आकर्षित गरिएको बताए ।
बंगुरपालन व्यवसायमा अहिले क्षेत्रीबाहुन जातिका युवाहरु बढी आकर्षित भएका छन् । विदेशबाट फर्केका, आर्थिक रुपमा कमजोर वर्गका युवाहरुलाई बंगुरपालन व्यवसायमा आकर्षित गरी आत्मनिर्भर बनाउन लागिएको रानाको भनाई छ ।
ग्रामीण आर्थिक विकास संघ (रेडा)का कार्यकारी निर्देशक लिला बहादुर कार्कीले सीप, पूँजी र बजारीकरणमा सहयोग पछि युवा बंगुरपालन व्यवसायमा आकर्षण बढेको बताए ।
पछिल्ला बर्षहरुमा बंगुरको मासुको माग बढीरहेको छ । युवाहरुलाई बंगुर हस्तान्तरण गरेको १०महिनामा उत्पादन हुन थालेको र उत्पादित बंगुरका पाठापाठी बिक्रीका निम्ति सहजीकरण गरिएको कार्कीले बताए । तानसेन नगरपालिकाभित्रका बेरोजगार युवाहरुलाई कृति तथा पशुपालनका क्षेत्रमा सहयोग गरी उद्यमी बनाउन थालिएको निर्देशक कार्कीकाे भनाइ छ ।