पाल्पा – सबै क्षेत्र खुला भएसँगै चलचित्र क्षेत्रमा पनि चहलपहल शुरु भएको छ । एकपछि अर्को चलचित्रको रिलिज मिति तोक्न थालिएको छ ।
यस्तैमा पाल्पामा छायाँकन गरिएको, पाल्पाली गायक, संगीतकार एवं निर्देशक नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को रिलिज मितिबारे निर्माण पक्षले केही बोलेको छैन ।
यो चलचित्र २०७७ सालको दशैंमा प्रदर्शन गर्ने योजनाका साथ छायाँकन सुरु गरिएको थियो । तर, कोरोना महामारीका कारण छायाँकन नै रोकिनुपर्यो । कोरोनाको पहिलो लहरपछि लकडाउन खुलेसँगै चलचित्रको बाँकी छायाँकन पुरा गरिएको थियो । गतवर्ष दशैं तिहारपछि चलचित्र युनिट छायाँकनका लागि पाल्पा आएको थियो ।
पाल्पाको झडेवामा जन्मिएका निर्देशक रायमाझीले आफ्ना यसअघिका चलचित्र ‘गोर्खा पल्टन’ र ‘परदेशी’ पनि पाल्पामा छायाँकन गरेका थिए । ति दुबै चलचित्र सुपरहिट भएका थिए । उनको ‘परदेशी–२’ तेस्रो चलचित्र हो । यो चलचित्रको केही भाग पाल्पाको माथागढी गाउँपालिकाको झडेवा देवगीर, कसेनी, सराई लगायतका स्थानमा छायाँकन गरिएको छ । चलचित्र छायाँकनका लागि निर्देशक नारायणसँगै अभिनेता दीलिप रायमाझी, प्रशान्त तामाङ्ग, प्रकाश सपूत, अभिनेत्री केकी अधिकारी, कलाकार नीर शाह, रमा थपलिया, देबेन्द्र बब्लू लगायत पाल्पामा आएका थिए ।
छायाँकन सकिएसँगै यो चलचित्र यसवर्षको दशैंमा रिलिज गर्ने निर्माण टिमले जनाएको थियो । तर, कोरोनाको दोस्रो लहरपछि फेरि यो चलचित्रको प्रदर्शन स्थगित गरिएको थियो । अब अन्य चलचित्रले प्रदर्शन मिति तोक्न थालेसँगै ‘परदेशी २’ कहिले रिलिज हुन्छ भन्नेबारे पनि दर्शकमा चासो छ ।
निर्देशक रायमाझीका अनुसार चलचित्रको कथा दशैंको परिवेशसँग जोडिएको छ । सोही कारण अब चलचित्र आउँदो वर्ष (२०७९)को दशैं अगाडि रिलिज हुने शंभावना कम रहेको निर्माता राजेश वंशलले जानकारी दिए । चलचित्रलाई राजेश बंशल र नारायण रायमाझीले निर्माण गरेका हुन् । निर्मातामध्येका राजेशले भने, ‘दशैंको परिवेशसँग जोडिएको कथा भएकाले शुरुदेखि नै दशैंका लागि तयारी गरेका थियौं । यस वर्ष रिलिज हुन पाएन । अब अर्को वर्ष दशैंमा नै होला,’ उनले भने । यसअगाडिको ’परदेशी’ चलचित्र पनि दशैंको अवसरमा प्रदर्शनमा आएको थियो ।
‘परदेशी २’मार्फत गायक प्रकाश सपूत पहिलोपटक चलचित्रको पर्दामा देखिँदैछन् । चलचित्रमा अभिनेत्री वर्षा सिवाकोटी पनि शीर्ष भूमिकामा छिन् । यस चलचित्रको कथा राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानका अध्यक्ष रहनुभएका गीतकार रमेश विजीले तयार पारेका हुन् । चलचित्रको छायाँकन पाल्पा, पोखरा, पाल्पा, चितवन, काठमाडौं लगायतका स्थानसँगै अमेरिका, भारतमा समेत गरिएको छ ।