तानसेन। तानसेनकाे कैलाशनगरमा निर्माणाधिन श्रीनगर साँस्कृतिक डबलीकाे निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
पाल्पाका कला संस्कृति तथा यहाँको ऐतिहासिक पक्षको प्रचार गरी पर्यटक ल्याउन प्रदेश सरकारको योजना अनुसार काम अगाडि बढाएको हो । लुम्विनी प्रदेश सरकारको ६ करोड ८२ लाख ५६ हजार ९१ बजेटमा प्रतिष्ठा कन्स्ट्रक्सन कम्पनी प्रालि काठमाडौँले डबलीको काम थालेको थियो । डबली मार्फत झण्डै पाँच मानिसले प्रदर्शनीमा सहभागी हुने गरी संरचनाको निर्माण गरिएको छ ।
पाल्पामा निर्माणाधिन डबली सञ्चालनमा आएपछि पाल्पाको कला, संस्कृतिको संरक्षण तथा पर्यटक प्रवद्र्धनमा सहयोग पुग्नेछ । रोजगारीका अवसरहरु सिर्जना हुने, कला, संस्कृतिको प्रदर्शनीले पर्यटकको आगमनमा वृद्धि हुने लुम्विनी प्रदेशका उर्जा, जलस्रोत तथा सिचाई मन्त्री बीर बहादुर रानाले बताए ।
नयाँ पुस्ताका युवाहरुले विर्सिएको कला, सँस्कृति सम्वन्धि डबली मार्फत ज्ञान अभिवृद्धि हुने र कला, सस्कृतिसँग जोडेर स्थानीयको आयआर्जन हुने तानसेन नगरपालिकाका नगर प्रमुख अशोक कुमार शाहीले बताए ।
विसं २०७६ असार ८ गते काम सुरु गरी विसं २०७८ असार ७ गते सम्पन्न गर्ने सम्झौतामा निर्माण पुरा गर्ने जनाएको छ । तर, कोभिडको कारण देखाएर निर्माणमा आलटाल गरेपनि सबै काम पुरा भएकोे जनाएको हो । निर्माण सम्वन्धि सबै काम पुरा भएको केही सामान्य काम मात्र बाँकी रहेको निर्माण पक्षका दीपक पालले बताए ।
पाल्पाको कला, सस्कृति, भेषभूषा, रहनसहन लगायतको प्रचार गरी पर्यटन आगमनलाई वृद्धि गर्ने लक्ष्यका साथ श्रीनगर डबली निर्माण कार्य थालिएको हो । पर्यटकीय गन्तव्यका रुपमा परिचित पाल्पामा रानीमहल, पाल्पा दरबार, भैरव मन्दिर लगायतका ऐतिहासिक सम्पदा अवलोकन गर्न पर्यटकहरु पाल्पामा घुमफिर गर्छन् ।
यो डबलीबाट पाल्पाका विभिन्न जातजातिको कला, संस्कृति प्रदर्शनलाई पर्यटन आकर्षण गरी जिल्ला पर्यटकको चहलपहल ल्याउन थालिएको हो ।