तानसेन। जिल्ला निर्वाचन कार्यालय पाल्पाले दुई चरणमा मतदाता नामावली संकलन गर्ने भएको छ । निर्वाचन कार्यालयले पहिलो चरणमा १७ गतेदेखि २६ गतेसम्म तथा दोस्रो चरणमा मंसीर २८ देखि पुस ८ गतेसम्म नामावली संकलन गर्ने जनाएको छ ।
पहिलो चरणमा रामपुर नगरपालिका, पूर्वखोला, माथागढी, रिब्दीकोट र रैनादेवी छहरा गाउँपालिकामा मतदाता नामावली संकलन जिल्ला निर्वाचन अधिकारी रुक्मागत अर्यालले जानकारी दिए ।
यस्तै दोस्रो चरणमा निस्दी, रम्भा, तिनाउ र बगनासकाली गाउँपालिकामा नामावली संकलन हुनेछ । तानसेन नगरपालिकाभित्र बसोबास गर्ने नागरिकले भने जिल्ला निर्वाचन कार्यालय गएर मतदाता नामावलीको विवरण भर्न सकिने प्रमुख अर्यालले बताए ।
नागरिकले आफ्नो पालिकाको केन्द्रमा नागरिकताको प्रमाणपत्रको प्रतिलिपी लिएर मतदाता नामावलीको विवरण भर्न सक्नेछन् ।
नागरिकता नभएको खण्डमा बसाईसराईको र विवाह दर्ताको प्रमाणपत्रको आधारमा पनि मतदाता नामावली अद्यावधिक गर्न सकिनेछ निर्वाचन कार्यालयले जनाएको छ ।
आगामी निर्वाचनलाई मध्येनजर गरेर निर्वाचन आयोगले देशव्यापी रुपमा मतदाता नामावली अध्यावधिक गर्ने कार्यलाई अघि सारेको हो । अभियानका क्रममा नयाँ मतदाता नामावलीका लागि मात्र विवरण संकलन गरिने निर्वाचन अयोगले जनाएको छ ।