पाल्पामा यो वर्ष तीन करोड बढीको धानमा क्षति

तानसेन। पाल्पामा यो वर्ष तीन करोड बढीको वर्षे धानमा क्षति पुगेको छ।

समयमा पानी परेका कारण वर्षे धान उत्पादन राम्रो भएपनि पछिल्लो सयम परेको झरीले गर्दा सबै स्थानीय तहमा गरी तीन करोड ४० लाख २७ हजार ८ सय ८१ रुपिँया बराबरको वर्षैधामा नोक्सानी पुगेको कृषि ज्ञान केन्द्र पाल्पाले जनाएको छ ।

कृषि ज्ञान केन्द्र पाल्पाकी प्रमुख कामना अधिकारीले दिएको जानकारी अनुसार पाल्पामा ५७ हजार एक सय ७२ हेक्टर खेतीयोज्य जमिनमध्ये आठ हजार दुई सय ६ हेक्टर जमिनमा किसानहरुले वर्षेधान खेती भएको थियो । यो वर्षको क्षति विवरण अनुसार कुल छ हजार ८ सय ८२ रोपनी क्षेत्रफलमा धानखेती नोक्सान भएको प्रमुख अधिकारीले बताइन्।

दशैं स्थानीय तहमा गरी कुल एक हजार २ सय ७६ किसानले नोक्सानी बेहोरेका छन् । क्षति पुगेको स्थानीय तहमध्ये सबैभन्दा बढी तिनाउ गाउँपालिका रहेको छ भने कम क्षति हुने स्थानीय तहमा रामपुर र तानसेन नगरपालिका रहेका छन् ।

यो वर्ष उत्पादनमा वृद्धि हुनेगरी खेती लगाएका किसानले स्यार्ने बेलामा परेको झरीका कारण कुल उत्पादन वृद्धि हुन नसकेको पनि कृषि ज्ञान केन्द्रले जनाएको छ।

यो वर्ष अन्य रोगको समस्या नदेखिएको र पानीको सहजताका कारण उत्पादन बढ्ने अपेक्षा भएपनि झरीले गर्दा भित्र्याउने बेलाको बालीमा नोक्सानी पुगेको किसानहरुको भनाई छ ।

तपाईको प्रतिक्रिया