
तानसेन।पाल्पाको रैनादेवी छहरा गाउँपालिका–५, मुझुङगस्थित स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीले जीर्ण भवनबाट सेवा प्रवाह गर्न बाध्य भएका छन् । गर्मी महिनामा घामले पोल्ने र वर्षायाममा भवनमा नै पानी चुहिने समस्या रहेको छ ।
जस्ता पाताको छाना सहितको कच्ची भवन छ । साँगुरा भवनबाट स्वास्थ्य परीक्षण गर्न गाह्रो भएको स्वास्थ्यकर्मी श्याम कार्कीले गुनासो गरे । महिला तथा सुत्केरीहरुलाई भिन्न कोठामा राखी परामर्श गर्नुपर्ने हुन्छ । तर प्रशस्त कोठा नहुँदा समस्या देखिएको हो । जसले परामर्श सेवामा समस्या झेल्नुपरेको हो ।
जस्ता पाताको टहराबाट सेवा प्रवाह गर्नुपर्ने समस्याले कार्य सम्पादनमा चुनौती थपिएको हो । साँगुरा कोठामा विरामीको स्वास्थ्य परीक्षण, औषधि वितरण तथा प्रशासनिक काम गर्नुपर्ने समस्या खेपिरहनुपर्ने बाध्यता नहटेको कार्कीको भनाई छ ।
विस २०७२ सालमा स्वास्थ्य चौकी भवन निर्माण थालिएको भएपनि निर्माण कार्य हालसम्म पुरा नहुँदा स्वास्थ्य चौकीका कर्मचारीले अझै पनि जीर्ण भवनबाट सेवा प्रवाह गर्नुपर्ने बाध्यता हटेको छैन । शान्ति तथा पूर्ननिर्माण मन्त्रालयको ५१ लाख लगानीमा काम थालिएको स्वास्थ्य चौकीको भवन आर्थिक अभावकै कारण रोकिएपछि सुविधासम्पन्न भवनबाट सेवा प्रवाहमा समस्या थपिएको हो ।
शान्ति मन्त्रालयको बजेटमार्फत डीवी कन्ट्रन्सनले क्रमागत बजेटमा काम थालेको हो । पहिलो वर्ष काम भएपनि दोस्रो वर्षदेखि हालसम्म काम रोकिएपछि पुरानो भवनबाट नै काम गर्नुपर्ने बाध्यता नहटेको स्थानीयबासिन्दा बाबुराम कार्कीले बताए।
भवनको काम लामो समयसम्म पुरा हुन सकेको छैन । जसले गर्दा सुविधा सम्पन्न भवनबाट स्वास्थ्य परीक्षण गर्ने सपना समेत तुसरापात भएको हो ।
नेपालमा २०७२ सालमा संविधान जारी भएपछि शान्ति मन्त्रालय खारेज भएको थियो । शान्ति मन्त्रालयको बजेट मार्फत सञ्चालित आयोजनाहरु कुन मन्त्रालयले काम गर्ने भन्ने अझै टुङ्गो नहुँदा अधिकाँश योजनाहरु अलपत्र अवस्थामा छन् ।
स्वास्थ्य चौकी निर्माणका लागि लाखौं खर्च भएपछि विरामी र स्वास्थ्यकर्मीलाई स्वास्थ्य परामर्शका निम्ति भवनको अभाव छ ।