
तानसेन। गुल्मी जिल्लाको रेसुङ्गामा पनि हिमपात भएको छ । मंगलबार रातिदेखि वर्षासंगै बुधबार धार्मिक तथा पर्यटकीय स्थल मानिने रेसुङ्गामा हिउँ परेको हो ।
बिहीबार बिहानबाट पानी पर्न रोकिएपछि रेसुङ्गामा हिउँ खेल्न जानेहरुको घुइँचो बढेको छ । धेरैले सामाजिक सन्जालमा रेसुङ्गाको हिउँ सहितका तस्विर राख्दै खुसी साटेका छन् ।
आज सार्वजनिक बिदा भएकाले पनि रेसुङ्गाको हिउँ परेको हेर्न र खेल्न जानेहरुको घुइँचो लागेको स्थानीयले बताएका छन् ।
रेसुङ्गागामा परेको हिमपात सदरमुकाम तम्घास बजारबाट पनि देख्न सकिन्छ ।
जिल्लाका अन्य उच्च स्थानहरु अर्जुन, मदाने, टिमुरे, थाप्ले, सालिमेदह लगायतका एक दर्जन स्थानमा सामान्य हिमपात भएको देखिन्छ । वर्षा र हिमपातले हिउँदेबालीलाई फाइदा पुग्ने हुँदा कृषकहरु समेत खुसी छन् ।
रेसुङ्गा समुद्री सतहबाट २ हजार ३ सय मिटरको उचाइमा रहेको धार्मिक, ऐतिहासिक र पर्यटकीय क्षेत्र पनि हो ।