
तानसेन। नारायणहिटी, पशुपतिको धर्मशालादेखि देशभरको सांस्कृतिक धरोहरमा व्यापार गर्न ‘पल्केको’ बतास ग्रुप तानसेन नगरपालिकाको श्रीनगर सौन्दर्यकरण योजनाबाट पछि हटेको छ । बतास ग्रुपको स्वार्थअनुसारको काममा तानसेन नगरपालिकाले सहमति जनाउन नसकेपछि उक्त व्यापारिक समूह पछि हटेको हो ।
तानसेन नगरपालिकाको सार्वजनिक निजी साझेदारी कार्यक्रम अन्तर्गत पाल्पाको ऐतिहासिक तथा पर्यटकीय स्थल श्रीनगरको सौन्दर्यकरण, सञ्चालन तथा व्यवस्थापनका लागि बतास ग्रुपले काम गर्नका लागि प्रस्ताव गरेको थियो ।
श्रीनगरको सौन्दर्यकरणको प्रस्तावमा सहभागी भएको बीपीएस लिजिङ एन्ड म्यानेजमेन्ट प्रालि सम्झौताको अन्तिम चरणबाट पछाडि हटेको तानसेन नगरपालिकाले जनाएको छ ।
तानसेनको श्रीनगर क्षेत्रलाई पर्यापर्यटनको रूपमा विकास, संरक्षण, सम्बर्द्धन तथा उचित व्यवस्थापन गरी पर्यटकीय आकर्षणको रूपमा विकास गर्ने उद्देश्यअनुसार नगरपालिकाले २०७६ सालमा प्रस्ताव माग गरेको थियो । उक्त प्रस्तावमा ५ वटा समूहले निवेदन हालेकामा बतास ग्रुप अन्तर्गतको बीपीएस लिजिङ एन्ड म्यानेजमेन्टसँगै जेभीमा पोखराका दुई वटा कम्पनी जोडिएका थिए ।
जसमा प्रनि होल्डिङ र सिटी स्क्वायर रहेका थिए। उक्त कम्पनीले कोरोनाको संक्रमण र राजनैतिक संक्रमण जस्ता कारण देखाएर सम्झौताबाट पछि हटेको नगरपालिका सानिसा कार्यक्रमका फोकल पर्सन दुर्गाबहादुर थापाले जानकारी दिए ।
तानसेन नगरपालिकासंग श्रीनगर सौन्द्रर्यकरण, सञ्चालन तथा व्यवस्थापन आयोजनामा काम गर्ने चाहनेले कम्तिमा २० करोड रुपैयाँको लागनी गर्नु पर्ने गरी प्रस्ताव माग गरिएको थियो।
नगरपालिकाले श्रीनगरको सौन्दर्यकरण र पर्यावरण नबिग्रने गरी साना संरचना मात्र बनाउन दिने र वन क्षेत्र बिगार्न नपाइने शर्त राखेको थियो । यस्तै उक्त कम्पनीले गरेको आम्दानीको १० प्रतिशत नगरपालिकालाइ बुझाउनुपर्ने शर्त राखेको थापाले बताए ।