तानसेन।आगामी माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनका उम्मेदवार र मतदाताका बीचमा अन्तरक्रिया सम्पन्न भएको छ । तानसेनमा भएको कार्यक्रममा पाँच दलीय गठबन्धका तर्फबाट लुम्बिनी प्रदेशका उम्मेदवार र मतदातबीच छलफल भएको हो।
कार्यक्रममा नेपाली काँग्रेसको तर्फबाट राष्ट्रिय सभा उम्मेदवार बनेका युवराज शर्माले आफू निर्वाचित भएपछि संवैधानिक, राजनैतिक र गठबन्धनको दायित्व पूरा गर्ने प्रतिबद्धता जनाए । उनले आफू आफैँले राजेको बाटो हिड्ने र त्यो बाटो समाजवादको बाटो रहेको बताए ।
यस्तै नेकपा एसको तर्फबाट उम्मेदवार बनेकी राजेन्द्रलक्ष्मी गैरेले आम मतदाता र पाल्पाली जनताले अपेक्षा गरेअनुसार आफू अघि बढ्ने बताइन । उनले देश, जनता र राष्ट्रियताको पक्षमा निष्पक्ष भएर निरन्तर आवाज उठाउने प्रतिबद्धता समेत जनाइन् ।
कार्यक्रममा राष्ट्रिय जनर्मोचाको तर्फबाट उम्मेदवार तुलप्रसाद विश्वकर्माले सबै जनतालाई समान रुपमा हेरेर जनताको पक्षमा निरन्तर लाग्ने बताए । उनले राष्ट्रियता र जनजीविकाको मुद्दा कमजोर बन्दै गएकाले आफूले उक्त मुद्दालाई सशक्त रुपमा सदनमा उठाउने उल्लेख गरे ।
कार्यक्रममा पाल्पाका स्थानीय तहका प्रमुख, उपप्रमुख, गठबन्धनका सहभागी दलका नेता, कार्यकर्ताको सहभागिता रहेको थियो ।