
तानसेन। जिल्ला प्रशासन कार्यालय पाल्पाले अत्यावश्यक बाहेकका सेवा स्थगित गरेको छ ।
प्रशासनमा कार्यरत कर्मचारीमा कोरोनासंग मिल्दो लक्षण देखिए पछि अर्को सूचना जारी नहुँदासम्म अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले माघ ९ गतेदेखि लागू हुने गरी शान्ति सुरक्षाका मुद्दा, फोटोसहितको मतदाता नामावली संकलन र नागरिकता प्रमाणपत्रबाहेकको अन्य सबै सेवा स्थगित गरिएको जानकारी दिए ।
पछिल्लो समय जिल्लामा संक्रमण बढेको हुँदा अत्यावश्यक सेवा लिने सेवाग्राहीले पनि अनिवार्य रुपमा कोरोना विरुद्धको खोप लगाएको कार्ड देखाउनुपर्ने व्यवस्था गरिएको प्रजिअ पन्तले बताए ।
खोप लगाएको कार्ड नभएको खण्डमा सेवासमेत नदिने प्रशासनले जनाएको छ । यसैबीच प्रमुख जिल्ला अधिकरी पन्तले कोरोना संक्रमण तथा नियन्त्रणका लागि १९ बुँदे आदेश समेत जारी गर्नुभएको छ ।
हाल जिल्लामा संक्रमण बढ्ने क्रम रहेको हुँदा संक्रमण रोकथामका लागि मानविय गतिविधि नर्गन तथा अत्यावश्यक कार्यमा जनस्वास्थयको मापदण्डको पूर्ण पालना गर्न गराउन स्थानीय प्रशासनले अनुरोध गरेको छ ।