तानसेन। पाल्पाको तिनाउ गाउँपालिकाले पालिका भित्र सञ्चालित खानी उद्योगहरूले मापदण्डभन्दा बढी चुनढंगा उत्खनन् गरेको विषयमा ध्यानाकर्षण भएको जनाएको छ ।
पालिकाले एक विज्ञिप्त जारी गर्दै पालिका भित्र संचालित खानीले मापदण्ड पुरा नगरको र जनमानसमा पर्दै आएको समस्याका बारेमा ध्यानाकर्षण भएको जनाएको छ।
गाउँपालिका अध्यक्ष ओमबहादुर घर्तीले खानीले राजश्व हिनामिना गरेको खानी प्रभावित क्षेत्रका जनताले चुनढंगा दोहन भईरहेकोप्रति देखाएको चासोप्रति ध्यानाकर्षण भएको बताउदै कानुन विपरीत गरिएका कार्यलाई कानुनको दायरामा ल्याउन र तोकिएको राजश्व अशुलउपर गर्न सम्बन्धित पक्षलाई आह्वान गर्ने बताएका छन् ।
अध्यक्ष घर्तीमगरले स्थानीय बासिन्दासँग भएको सम्झौता पालना हुनुपर्ने, धुलोधुँवा नियन्त्रण हुनुपर्ने, धर्मकाँटा राख्नुपर्ने, सडकको मापदण्ड अनुसार ढंगा बोक्नुपर्ने, चुनढंगा ढुवानीको काम स्थानीयलाई प्राथमिकतामा राखेर दिनुपर्ने, र समयअनुसार ढुवानीको भाडा समायोजन हुनुपर्ने, वातावरण संरक्षण र पहिरो नियन्त्रणमा खानी संचालकले ध्यान दिनका लागि अनुगमन समिति समेत बनाएको छ ।
अध्यक्ष स्वयमको संयोजकत्वमा उपाध्यक्ष, वडाअध्यक्षहरू, प्रमुख प्रशासकीय अधिकृत, सम्बन्धित शाखा प्रमुख, तिनाउको वन कार्यालय, प्रहरी प्रमुख रहेको खानीक्षेत्र अनुगमन समिति गठन गरिएको अध्यक्ष घर्तीले बताए ।