काठमाडाैं। सिद्धार्थ राजमार्गको अन्तगर सिद्धबाबा क्षेत्रमा निर्माण गर्न लागिएको सुरुङमार्गको निर्माण चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनीले गर्ने भएको छ ।

सडक विभागले दिएको जानकारी अनुसार सिद्धबाबा सुरुङमार्ग निर्माणका लागि भएको ठेक्कामा चाइना स्टेट कन्स्ट्रक्सनले ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँ कबोल गरेको छ ।

यो प्राविधिक रुपमा पास भएर आर्थिक प्रतिस्पर्धा गरेका ४ कम्पनीमध्ये सबैभन्दा कम रकमको कबोल अंक भएकाले कम्पनी छनोट भएको बताइएको छ ।

यो ठेक्कामा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङको निकटतम् चीनकै प्रतिद्वन्द्वी कोभेक-सीआरईजीसी जेभीले ७ अर्ब ७९ करोड ९७ लाख रुपैयाँ कबोल गरेको छ ।

चीनकै सीसीईसीसी सीआरसीसी १४ सियुआन जेभीले ९ अर्ब ८० करोड १६ लाख रुपैयाँ कबोल गरेको छ । चाइना फर्स्ट हाईवे इन्जिनियरिङले ११ अर्ब ७३ करोड ६५ लाख रुपैयाँ कबोल गरेको छ ।

सिद्धबाबा सुरुङमार्ग इन्जिनियरिङ, प्रक्योरमेन्ट एन्ड कन्स्ट्रक्सन ईपीसी मोडलमा निर्माण गर्न लागिएको हो । यसअनुसार सुरूङको डिजाइन पनि कम्पनीले नै तयार गर्नुपर्ने हुन्छ ।

१ मंसिर २०७७मा बसेको मन्त्रिपरिषद् बैठकले सिद्धबाबामा सुरुङ मार्ग निर्माणका लागि १० अर्ब १५ करोड रुपैयाँ को लागि बजेटको सहमति प्रदान गर्ने निर्णय गरेको थियो । सडक विभागले ९ जेठ, २०७८मा ४५ दिने सूचना प्रकाशित गर्दै ग्लोबल टेण्डर आहृवान गरेको थियो ।

स्वीस एजेन्सी फर डेभलपमेन्ट एण्ड कर्पोरेसन (एसडिसी)ले गरेको अध्ययनको प्रतिवेदन अनुसार टेन्डर आहृवान भएको थियो ।

यो सुरुङमार्ग १ दशमलव १२६ किलोमिटरको सुरुङ हुनेछ । सुरुङमार्गको सुरु हुनुभन्दा अगाडि र पछाडि ३ हजार ५ सय मिटरको रकनेट राखिने व्यवस्था रहेको छ ।

करिक ५ वर्षमा यो सुरूङमार्ग निर्माण गरेर सञ्चालनमा ल्याउने सरकारको लक्ष्य छ ।

                                                                                                                                                                    -अनलाइन खबरकाे सहयाेगमा ।

 

 

 

 

तपाईको प्रतिक्रिया