
पाल्पा । यहाँ नेकपा माओवादी केन्द्रका दुई भातृसंगठनले २७ औं जनयुद्ध दिवस विविध कार्यक्रम सहित मनाइएको छ । पाल्पाको सदरमुकाम तानसेनस्थित शीतल पार्टीमा योङ्ग कम्युनिष्ट लिग र अखिल क्रान्तिकारीको संयुक्त आयोजनामा जनयुद्ध दिवसका अवसरमा दिप प्रज्जलन गरिएको हो ।
नेकपा माओवादी पाल्पाका नेता राजेन्द्र विश्वकर्माले जनयुद्धको बलमा नेपालमा संविधानसभाबाट संविधान र गणतन्त्र स्थापना भएको बताएका छन् ।
देशमा पछिल्ला बर्षहरुमा विदेशी हस्तक्षेप बढेको र त्यसका विरुद्ध नेपाली जनताहरु एकजुट हुन आवश्यक रहेको नेता विश्वकर्माले बताए ।
अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष पदम सोमैले एमसीसी परियोजना नेपालको हितमा नरहेकोले फिर्ता गर्नुपर्ने बताए ।
योग कम्युनिष्ट लिग पाल्पाका अध्यक्ष धनेन्द्र घिमिरेले एमसीसी परियोजनाले तत्काल फिर्ता गर्नुपर्ने बताए । यसै बीच पाल्पाको रैनादेवी छहरा गाउँपालिका, तिनाउ गाउँपालिका, रम्भा गाउँपालिका, रामपुर नगरपालिका, पूर्वखोला, निस्दी लगायतका स्थानमा जनयुद्ध दिसवका अवसरमा विविधि कार्यक्रम सहित अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ ।
माओवादी आन्दोलनले नेपालको राजनैतिक रुपान्तरण गरिपनि माओवादी आन्दोलन छिन्नभिन्न भएकोमा कार्यकर्ता उत्साहित छैनन् । माओवादी आन्दोलनलाई पुन उचाई पुरयाउन आवश्यक रहेको र विदेशी हस्तक्षेप रोक्न आवश्यक रहेको कार्यकर्ताको जोड दिएका थिए ।