
तानसेन। पाल्पाको रिब्दीकोट गाउँपालिकाले जटिल प्रकारका रोगीलाई उपचारका लागि आर्थिक सहयोग गर्दै आएको छ ।
पालिकाले मृटु, मिर्गौला तथा क्यान्सर पीडित व्यक्तिका लागि यातायात खर्च बापत ६ हजार नगद सहयोग गर्दै आएको हो ।
मुटु रोगी २१, मिर्गौला रोगी १९, क्यान्सर पीडित १५ गरी कूल ५५ तथा अन्य आर्थिक अभावमा उपचार गर्न समस्या भएका नौं जना विपन्न नागरिक गरी हालसम्म कूल ६४ जनालाई आर्थिक सहयोग गरेको गाउँपालिका अध्यक्ष नारायणबहादुर जिसीले जानकारी दिए ।
गाउँपालिकाले विपन्न नागरिक औषधोपचार कोषबाट २३ नागरिकलाई उपचारका लागि सिफारिस गरेको छ । जुन कोषबाट विपन्न परिवारका नागरिकले रु एक लाख बराबरको उपचार सुविधा पाउने स्वास्थ्य शाखा प्रमुख सुनिल अधिकारीले बताए ।
प्रदेश सरकारबाट विनियोजन रकमबाट स्वास्थ्य उपचारका लागि एक जनालाई सिफारिस गरिएको छ । गाउँपालिकाभित्रका आठ वडाका मुटु, मिर्गौला र क्यान्सरपीडित बिरामीका उपचारमा सहयोग स्वरूप यातायात खर्च नगद रकम सहयोग प्रदान गरेको स्वास्थ्य शाखा प्रमुख अधिकारीको भनाई छ ।
यसरी उपचारमा सहयोग पाएपछि विपन्न परिवारका नागरिकले स्वास्थ्य उपचारमा राहत मिलेको बताएका छन्।