
तानसेन। पछिल्लो समय पहाडि जिल्लाहरुमा बन्यजन्तुको आक्रमणबाट लगाएको बाली स्यार्न नपाउँदा किसानहरु समस्या परेका छन् ।
खासगरी बादर, दुम्सी, मृग(राते) लगायतका बन्यजन्तुले बालीको नोक्सानी गर्ने हुँदा किसानहरु समस्यामा परेका हुन् ।
गाउँमा युवा पुस्ताको बसोबास नहुँने र बुढापाकाले जेततेन लगाएका बालीहरु पनि स्यार्न समस्या भएको किसानहरु बताउछन् ।
दिउँसोमा बादर र रातमा दुम्सी, खरायो, बँदेललगायतका जंगली जनावरले बाली नास गर्ने हुँदा कतिपय खेतीयोग्य जमिन बाँझिदै गएका छन् । बालीको रक्षासंगै आफ्नै जीउ ज्यानको समेत रक्षा गर्न मुस्किल भएको किसानको गुनासो छ ।
बादरले महिलाहरुलाई नटेरी शरीर चिथोर्ने तथा झम्टिँने गरेको बगनासकाली ४ का किसान गरुदत्त अर्यालले बताए । महिलालाई बादर धपाउँदा उल्टै आक्रमण गर्ने हुँदा घर वरिपरी बादर आउँदा ढोका थुनेर बस्नुको विकल्प नरहेको किसानको गुनासो छ ।
यी बाहेक कालिज, सुगालगायतका चराचुरुङ्गे पनि बालीको नास गर्ने गरेको किसानहरु बताउछन् । पछिल्लो समय गाउँदेखि वर्षेनि मानिसहरु सुविधा र बसोबासका लागि तराइएमा झर्ने क्रम नरोकिएको हँदा गाउँका मानिसलाई जंगली जनावरले सास्ती दिदैँ आएको किसानहरु बताउछन् ।
स्थानीय तहहरुले पनि यस्ता जनावरको विस्थापनका लागि वर्षेनी रकम विनियोजन गरे पनि हालसम्म कुनै ठोस काम हुन नसक्दा स्थानीयका समस्या जहाँको तेही रहेको किसानहरु बताउछन् ।
पाल्पाका सबै स्थानीय तहसहित छिमेकी जिल्लाका किसानले जंगली जनावरबाट सास्दी खेप्दै आएका छन् ।