पाल्पा । तानसेन नगरपालिका-६, बर्तुङ्गस्थित जनप्रिय माध्यमिक विद्यालयद्वारा आयोजित सामाजिक विभेद विरुद्धको सडकनाटक  पश्चाताप तथा नृत्य कार्यक्रम सम्पन्न भएको छ ।

शान्तिको लागि कला (म्याप) काठमाडौँ तथा श्री जनप्रिय माविद्धारा उत्पादित सडकनाटकका माध्यमबाट सामाजिक विकृतिविसंगति विरुद्ध नागरिकहरुलाई सचेत गरिएको हो । तानसने नगरपालिका-६को बर्तुङ्गचौराहा, देवकोटाचोक र जैसीचौपारीमा सामाजिक विभेद विरुद्धको सडकनाटक प्रदर्शन गरिएको छ ।

नेपालको संविधानले नै छुवाछूत र जातीय विभेदलाई दण्डनीय बनाएको छ । जातीय विभेद कसुर सजाय ऐन(२०६८ ले पनि त्यसलाई निषेध गरेको छ । सार्वजनिक स्थलमा हुने छुवाछुतमा केही कमी आए पनि केही व्यक्ति तथा समाजमा जातीय छुवाछुतले जरो गाडेर बसेको छ ।
उक्त नाटकमा महिलाले महिनावारीको समयमा भोग्नुपर्ने समस्याहरु र यसले स्वास्थ्यमा पुर्याउने असरहरु तथा तल्लो र माथिल्लो जातबीच पानी नचल्ने अन्धविश्वासप्रति सचेतना प्रस्तुत गरिएको थियो ।

वडा सदस्य राज कुमारी बिकले समाजमा घटेका सामाजिक घटनाहरुलाई जनप्रिय बाल क्लबका भाइ बहिनीहरुले मार्मिक ढंगमा प्रस्तुत गरेकोमा प्रशंसा व्यक्त गरिन ।

बालबालिकाहरुले नाटकको रुपमा सचेतनामूलक कार्यक्रम गरेकोमा जनप्रिय बाल क्लबका भाई बहिनी तथा विद्यालयलाई धन्यवाद तथा हौसला प्रदान गरिएको हो । नाटकको लेखन तथा निर्देशन विद्यालयका सह प्रधानाध्यापक तीर्थ प्रसाद गौतमले गरेका थिए । यसका अतिरिक्त भोलि फागुन २० गते तानसेन ६ भोटेचौपारी तथा देउपुजे क्षेत्रमा यस सडक नाटक प्रस्तुत हुने छ ।

तपाईको प्रतिक्रिया