
काठमाडौं । तनहुको दमौलीमा भएको आगलागी हेलिकप्टरले निभाउन सुरु भएको छ ।
काठमाडौंबाट गएको सिम्रिक एयरको हेलिकप्टरले दमौली बजारमा लागेको आगो निभाएको हो । बजार नजिकको नदीबाट पानी ओसारेर हेलिकप्टरमार्फत् आगो निभाउन थालिएको हो ।
उक्त हेलिकप्टरमा क्याप्टेन इन कमाण्ड सुरेन्द्र पौडेल र क्याप्टेन राजेन्द्र दुवाल छन् । उनीहरुसँगै अग्नि नियन्त्रक टोली पनि रहेको सिम्रिक एयरका योगेश सापकोटाले जानकारी दिए ।
गृह मन्त्रालयले पत्र लेखेर सिम्रिक एयरको सहयोग मागेसंगै काठमाडौंबाट हेलिकप्टर दमौली गएर आगो नियन्त्रण गर्न लागेको हो । आगो लागेको ठाउँमा बाटो साँघुरो भएकाले दमकल पुग्न कठिन भएको थियो ।
दमकल नजिक लैजान बाटोमा पर्ने टहरो भत्काइएको छ । अहिले दमकल र हेलिकप्टर दुवैबाट आगो निभाउने प्रयास जारी छ । आज बिहान दमौली चोकको एक हार्डवेयर गोदामबाट आगलागी सुरु भएको स्थानीयले बताएका छन् ।
आगो निभाउने प्रयास जारी रहेको र अहिलेसम्म कुनै मानवीय क्षति भने नभएको स्थानीय प्रशासनले जनाएको छ ।