
पाल्पा । पाल्पाका महिलाहरुले व्यावसायिक रुपमा गोलभेँडा खेतीमा आकर्षित भएका छन् । टनेलभित्र गोलभेँडा उत्पादन गर्दा राम्रो आम्दानी हुन थालेपछि महिलाहरु व्यावसायिक रुपमा लागिपरेका हुन । यसले महिलाहरु आत्मनिर्भर बन्दै गएका छन् ।
पाल्पाको रिब्दीकोट गाउँपालिका–२, लघुवाकी गंगा कुँवरले एक वर्षदेखि कुँवर पशुपालन तथा कृषि फर्म गाउँपालिकाको कृषि शाखामा दर्ता गरिन । व्यावसायिक कृषि कर्म गर्ने उद्देश्यका साथ सञ्चालनमा रहेकोे फर्म मार्फत कुँवरले आठ ओटा टनेलमा गोडभेँडा उत्पादन हुन्छ ।
आठ लाख लगानीमा सञ्चालनमा ल्याएको टनेलभित्र बेमौसमी तरकारी उत्पादन गर्न सजिलो भएको छ । गोलभेँडा खेतीबाट मासिक ५० हजार भन्दा बढी आम्दानी हुन्छ । दशैँपछि नियमित रुपमा आम्दानी भएको कुँवरको भनाई छ ।
टनेलभित्र उत्पादित तरकारीमा रोग, किरा तथा पानीबाट सुरक्षित राख्दा उत्पादन बढी हुन्छ । एकपटक टनेल निर्माण गरेपछि पटक पटक तरकारी खेतीका लागि संरचना निर्माण गर्नुपर्ने झन्झट समेत हटेको हो ।
खुल्ला आकाशमुनि गोलभेँडा खेती गर्ने किसानहरु अहिले टनेलभित्र उत्पादन गर्न थालेपछि असिनापानी तथा शीतबाट जोगाउन सजिलो भएको छ । टनेलभित्रको जमिनमा प्लास्टिक विछाएकोले झार गोडिरहनुपर्ने समस्या छैन । चिसो तथा पानीबाट जोखिएपछि लामो समय गोडभेँडाले उत्पादन दिने गरेको स्थानीय शर्मिला कुँवरले बताए ।
पाल्पामा उत्पादित गोडभेँडा रुपन्देही जिल्लाको बुटबल, रुपन्देही, स्याजा पोखरा, चितवनसम्म निर्यात हुँदै आएको छ । गोलभेँडा खेतीबाट मात्रै पाल्पामा एक हजार बढी किसानहरुले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा लाभान्वित भएका छन् । कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, स्थानीय तह तथा गैरसरकारी संस्थाहरुले गोलभेँडा खेतीमा सहयोग गर्दै आएका छन् ।
गाउँपालिका अध्यक्ष नारायण बहादुर जिसीले कृषि तथा पशुपालनका क्षेत्र अनुदान प्रदान गरिएको बताए । गोडभेँडामा उत्पादनको आधारमा अनुदान सहयोग गरेको छ । गाउँपालिकाले सबै वडामा खुर्सानी खेतीमा प्रोत्साहन गरिएको हो । ग्रामीण क्षेत्रका महिलाहरुको आर्थिक स्थितिमा सुधार ल्याउन महिला केन्द्रीत कार्यक्रम सञ्चालन गरिएको बताए ।