
तानसेन। पाल्पामा सवारी दुर्घटना हुँदा १३ जना घाइते भएका छन । तानसेन- रिडी- तम्घास सडक खण्डको रिब्दीकोट गाउँपालिका वडा नं. ३ सिरुखर्क जजिकै गुल्मीदेखि तानसेन तर्फ आउदै गरेको बा ५ ख २२८७ नं.को हाइस र बिपरित दिशाबाट जादै गरेको लु १ ख ९४९७ नम्बरको बस एक आपसमा ठक्कर खादा हाइसमा सवार १२ तथा बसमा सवार १३ जना घाइते भएको प्रहरीले जनाएको छ ।
घाइते हुनेमा गुल्मीको मसिकोट गाउँपालिका वडा नं. २ की २१ वर्षीया अम्बिका परियार, गुल्मीकै ईस्मा गाउँपालिका वडा नं. ६ की ७१ वर्षीया दिपकला पोखरेल, रेसुङ्गा नगरपालिका वडा नं.४ का २४ वर्षीय महेश पन्थी, सोही स्थानका ७० वर्षीय हेमलाला पन्थी, इस्मा ३ की ६७ वर्षीया सारदा पछाई र सोही स्थानका ६८ वर्षीय पे्रमबहादुर पछाई रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी लक्ष्मण पचभैंयाले जानकारी दिए ।
यस्तै पर्शा जिल्लाको विरगंज १६ का १८ वर्षीय संदीप शाह, सोही स्थानका १९ वर्षीय आनन्द कुमार सोनार, गुल्मीको रुरु गाउँपालिका वडा नं. ५ का २० वर्षीय विष्णुप्रसाद श्रेष्ठ, छत्रकोट गाउँपालिका वडा नं.२ का २१ वर्षीय शिब गाहाँ,कपिलवस्तुकाे वाणगंगा नगरपालिका बस्ने २६ वर्षीया सरस्वती कुवंर र बसमा सवार बर्दघाट नगरपालिका वडा नं. ५ का १९ वर्षीय विशाल नेपाली घाइते भएको सूचना अधिकारी पचभैंयाले बताए ।
घाइते मध्ये सरस्वती र यमलालको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
घाइतेहरु सबैको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । आइतबार दिउँसाे भएको दुर्घटना चालकको लापरबाहीले गर्दा भएको हुनसक्ने भएपनि थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।