
पाल्पा । यहि चैतको अन्तिम साता पाल्पाको तानसेनस्थित रानीमहलमा राष्ट्रिय महिला ‘बिच भलिबल’ प्रतियोगिता हुने भएको छ । सञ्जय स्मृति फाउन्डेसनले नेपाल भलिबल संघसँगको सहकार्यमा चैतको २४ गतेबाट २६ गतेसम्म ‘सञ्जय मेमोरियल राष्ट्रिय महिला बिच भलिबल’ प्रतियोगिता आयोजना गर्न लागेको हो ।
तीनवटा विभागीय टिम र सात प्रदेशका टिमलाई समावेश गर्दै आयोजना गर्न लागिएको प्रतियोगितामा राष्ट्रिय स्तरका खेलाडी समावेश हुनेछन् । पाल्पास्थित रानीमहलको पर्यटन प्रबर्द्धन र विकास गर्ने उद्देश्यका साथ बिच भलिबल आयोजना गरिएको नेपाल भलिबल संघका उपाध्यक्ष निरोज मास्केले बताइन् ।
फाउन्डेसनले प्रतियोगिताको सफल आयोजना गर्नका लागि पूर्व गभर्नर चिरन्जीवी नेपालको संरक्षकत्वमा २३ सदस्यीय मुल आयोजक समिति गठन गरेको छ । समितिमा फाउन्डेसनका पदाधिकारीसहित काठमाडौं र पाल्पामा रहेका प्रतिष्ठित सामाजिक व्यक्तित्व र संघ संस्था आयोजक समितिका सदस्य रहेको जनाइएको छ । आयोजक समितिमा उवासंघ पाल्पा, पाल्पा व्यापार संघ, होटल संघ, खेलकुद विकास समिति, महिला उद्यमी संघहरू लगायत विभिन्न संस्था रहेका छन् । पाल्पाका राजनीतिक दल दलहरूलाई समावेश गरी सल्लाहकार समिति गठन गरिएका फाउण्डेशनले जनाएको छ ।
प्रतियोगिता आयोजना स्थल पाल्पामा आवश्यक संयोजन र व्यवस्थापनका लागि पाल्पा उद्योग वाणिज्य संघलाई जिम्मेवारी तोकिएको छ । स्थानीय संघ संस्थाको सहभागिताले प्रतियोगितामा स्थानीय अपनत्व महशुश हुने र खेल सम्पन्न गर्न ठुलो महत्व राख्ने अपेक्षा फाउन्डेसनले गरेको छ ।
यसैबीच सञ्जय स्मृति फाउन्डेसनले प्रतियोगितामा अभिनेता धिरेन शाक्य र महिला भलिबल टिमकी कप्तान अरूणा शाहीलाई सद्भावना दूत नियुक्त गरेको छ ।
शाक्य र शाहीको नियुक्तिले प्रतियोगितालाई सफल बनाउन थप सहयोग पुग्ने विश्वास फाउन्डेसनले लिएको छ । अभिनेता शाक्यको गृहजिल्ला पनि पाल्पा सदरमुकाम तानसेन हो ।