शिक्षक लाइसेन्समा परीक्षाफल छिटो निकाल्न बस्तुगत प्रश्न मात्रै सोधिने

काठमाडाैं। शिक्षण अनुमति पत्र (लाइसेन्स) को परीक्षामा अबदेखि बस्तुगत प्रश्न मात्रै सोधिने भएको छ।

यसअघि ४० प्रतिशत बस्तुगत र ६० प्रतिशत विषयगत प्रश्न सोधिने गरिएकोमा पाठ्यक्रम परिवर्तन गर्ने निर्णय भएको छ।

शिक्षक सेवा आयोगको फागुन २ मा बसेको बैठकले शिक्षण अनुमति पत्र (लाइसेन्स) परीक्षामा बस्तुगत प्रश्न मात्रै सोध्ने गरी पाठ्यक्रम परिवर्तन गर्ने निर्णय गरेको थियो।

माध्यामिक र निम्नमाध्यामिक तहको शिक्षण अनुमति पत्र प्राप्त गर्ने परीक्षाका हकमा पाठ्यक्रम परिवर्तन गरिएका हुन्।

अबदेखि एक सय पूर्णाङ्कको बस्तुगत प्रश्न सोधिनेछ, जसमा ५० वटा प्रश्न हुनेछन्। एउटा प्रश्नको जवाफ मिलाएमा परीक्षार्थीले २ नम्बर पाउनेछन्। यसका लागि एक घन्टाको परीक्षा हुनेछ भने पास हुन ५० नम्बर ल्याउनुपर्छ।

परीक्षाफल छिटो आउने भएकोले बस्तुगत प्रश्न मात्रै सोध्ने निर्णय गरिएको आयोगका पदाधिकारी बताउँछन्। उनीहरूका अनुसार ओएमआर पद्धतिबाट प्रश्नपत्र जाँच गर्दा परीक्षाफल निकाल्न सजिलो र छिटो हुन्छ।

यो पाठ्यक्रम चैत २ पछि हुने परीक्षामा लागू हुने पनि आयोगले जनाएको छ।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer