
तानसेन। पाल्पा जिल्लालाई ढाका राजधानी घोषणा गरिएको छ । विश्वभर पाल्पाली ढाकाको बढ्दो महत्वलाई सार्थकता दिन राजधानी घोषणा गरिएको पाल्पाली ढाका संघले जनाएको छ ।
तानसेनमा आयोजित एक कार्यक्रमका बीच जिल्लालाई ढाकाको राजधानी घोषणा गरिएको हो ।
राजधानी घोषणा कार्यक्रममा लुम्बिनी प्रदेश कानुन, महिला तथा जेष्ठ नागरिक मन्त्री रमा घर्तीले ढाका राजधानीको पाल्पा जिल्ला ऐतिहासिक र सांस्किृतिक स्थल रहेको बताउदै यहाँ उत्पादित ढाकालाई अन्र्तराष्ट्रिय बजारसम्म पहिचान पुर्याउन राजधानी घोषणाले सहयोग पुग्ने बताइन् । मन्त्री घर्तीले पाल्पाली ढाका उत्पादमा वृद्धि गरी यो क्षेत्रमा लागेकाहरुको मनोवल वृद्धि गरी व्यवसायिक उत्पादनमार्फत महिला तथा युवालाई स्वरोजगार र उद्यमी बनाउन तीन तहका सरकारले सहकार्य गर्नुपर्ने बताईन् ।
सोही अवसरमा तानसेन नगरपालिकाका प्रमुख अशोक कुमार शाहीले ढाका राजधानी घोषणा गर्नु सफलता भए पनि यो नै पूर्णता नभएकोले घोषणालाई सार्थकता दिन ठोस कार्ययोजना बनाई अघि बढ्नुपर्ने बताए ।
घोषणा कार्यक्रमका सह-आयोजक उद्योग बाणिज्य तथा आपूर्ती मन्त्रालयका सहसचिव नारायण प्रसाद शर्मा दुवाडीले ढाका राजधानी घोषणाले औद्योगिक प्रवर्धनमा खुसी साथै चुनौती थपिएको र यो सफलताको प्राप्ती नभै लक्ष्य रहेको बताए ।
ढाका परियोजना संयोजक सागरमान महर्जनले ढाका र पाल्पा प्रर्यायवाची रहेको र हाल ३ सय ५० भन्दा बढी तान संचालनमा आएको बताए ।
उनले हाल तानसेनका ३ सय ६५ जना उद्यमीलाई तालिम दिइएको र आउदो २ वर्ष भित्र १३ सय भन्दा धेरैलाई तालिमप्राप्त बनाइ उत्पादनमा सहजता ल्याउने बताए।
पाल्पामा वि.स. २०१५ सालदेखि स्वः गणेशमान मिहर्जनले भारतबाट सीप सिकेर ढाका बुन्न सुरु गरेका थिए । केही वर्षअघिसम्म हराउदै गएको ढाका उत्पादनमा पछिल्लो समय भने उत्पादनमा वृद्धि भएपनि गुणस्तर र माग अनुसारको उत्पादन भने चुनौतीकै रुपमा रहेको व्यवसायीहरुले बताउदै आएका छन् ।