तानसेन। राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले बुद्धको सन्देशलाई विश्वभर फैलाउँदै पर्यटन प्रवर्द्धन गर्नुपर्ने बताएका छन् ।

बिहीबार पाल्पाको तानसेनमा तानसेन नगरपालिका र लुम्बिनी गार्डेन फाउण्डेसन, स्पेनबीच भएको समझदारी पत्र हस्ताक्षर बार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष तिमिल्सिनाले विश्वले बुद्ध जन्मेको देश भनेको चिनेको मुलुक भएका कारण पनि हामीले त्यसबाट फाइदा लिन नसकेको बताए ।

अध्यक्ष तिमिल्सिनाले आर्थिक विकास, मानवीय विकाससँगै अन्तर्राष्ट्रिय मानचित्रमा नेपाललाई चिनाउन जरुरी रहेको बताए । उनले सर्वोच्च शिखर सगरमाथा र बुद्ध जन्मस्थल लुम्बिनीलाई संसारभर चिनाउन जरुरी रहेको पनि बताए ।

 

यसैबीच तानसेन नगर र गार्डेन फाउण्डेसन बीच संस्कृति, ज्ञान आदानप्रदान, पर्यटन प्रर्वधन तथा बुद्धका सिद्धान्तलाई अंगाल्दै मानव शान्ति सम्पदाको रुपमा स्थापित गर्न ५ बुँदे समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

समझदारी पत्रमा गार्डेनका तर्फबाट फाउण्डेसनका उपाध्यक्ष गोविन्द सुवेदी र तानसेन नगरपालिकाका नगरप्रमुख अशोककुमार शाहीले हस्ताक्षर गरेका हुन् ।

समझदारी पत्रानुसार तानसेन र स्पेनको कासेरस सहरले एक अर्काको पर्यटन प्रवर्द्धन गर्ने, कासेरस सहरलाई अन्तर्राष्ट्रिय रुपमा मानव शान्ति र सम्पदाको शहरको रुपमा प्रवर्द्धन गर्ने कार्यक्रम छ । त्यस्तै बौद्ध धर्मका मुख्य सिद्धान्त शान्ति, मैत्री, अहिंसा, दया र करुणाको प्रवर्द्धन गर्ने, असमानता र द्वन्द्वलाई निरुत्साहित गर्ने समझदारीमा रहेको फाउन्डेसनका महासचिव एकराज गिरीले बताए ।

सम्झौताले कृषि, प्रविधि, स्वास्थ्य र परम्परागत ज्ञान आदानप्रदानमा सहयोग पुग्ने विस्वास गरिएको छ ।

समझदारी पत्रमा हस्ताक्षर कार्यक्रममा राष्ट्रिय सभाका सदस्य राजेन्द्रलक्ष्मी गैरे, प्रेस युनियनका अध्यक्ष बद्री सिग्देललगायतले तानसेनलाई लुम्विनी क्षेत्रको विकाससँग जोडेर अगाडि लैजानुपर्नेमा जोड दिएका थिएका थिए ।

तपाईको प्रतिक्रिया