बिच भलिबलको लिग चरणका ६ खेल सम्पन्न, सशस्त्र प्रहरीको एपिएफ क्लब दुई खेलमा बिजयी [फाेटाेफिचर]

तानसेन। पाल्पाको रानीमहलमा आजदेखी सुरु भएको राष्ट्रिय महिला बिच भलिबल अन्तरगत लिगकम नकआउटको खेल सम्पन्न भएको छ ।सञ्जय स्मृति प्रतिष्ठानको आयोजनमा सुरु भएको खेलमा बिहिबार ६ खेल सम्पन्न भएको छ ।

मधेश प्रदेश र प्रदेश नम्बर १ बीचको पहिलो खेलमा प्रदेश १ विजयी भएको छ । मधेशको सविना चौधरी र नेहा चौधरीको जोडीलाई अञ्जना लिम्बु र प्राची गौतमको जोडीले सोझो सेटमा पराजित गरेको छ । २१–७ र २१–१६ को सेटमा मधेस प्रदेश पराजित भएको हो ।

यस्तै दोस्रो खेलमा सुदुरपश्चिम प्रदेश विजय भएको छ । भगवती जोशी र बविता बोहोराको सुदुरपश्चिमले कर्णाली प्रदेशको अहारा कुमारी शाही र हिरा जैशीको जोडीलाई २०–४ र २३–२१ को सेटमा पराजित गरेको हो ।

बिहिबारै भएको तेस्रो खेलमा नेपाल पुलिस क्लब बिजयी भयो । २१–९ र २१–११ को सेटमा कमला पुन र मनिषा चौधरीको जोडीले लुम्बिनीका भावना डाँगी र सरस्वती कट्टेलको जोडीलाई पराजित गरेको हो ।


प्रदेश नम्बर १ र एपीएफ बीच भएको प्रतिस्पर्धामा भने ३–२ को सेटमा एपीएफ विजयी भयो । यस्तै प्रदेश १ को जोडीलाई एपिएफका रेश्मा भण्डारी र निरुता ठगुन्नाको जोडीले १–२१, २१–१६ र ८–१५ को सेटमा एपीएफ विजयी भएका छन् । बागमती र गण्डकी प्रदेशको खेलमा भने सोझो सेटमा गण्डकी बिजयी भयो । गण्डकीका पबित्रा बिसी र रेबिना घर्तिमगरको जोडीले बागमतीका मोनिका महतो र रोजीना कुमालको जोडीलाई २१–६ र २१–१४ को सेटमा हराएको हो ।


सात प्रदेश र दुई विभागीय टिम सहभागी भएको बिहिबारकै अर्को खेलमा मधेश प्रदेशलाई हराएर सशस्त्र प्रहरी बलको जोडी सोझो सेटमा बिजयी भएको आयोजकले जनाएको छ । मधेश प्रदेशलाई २१–५ र २१–८ को सेटमा पराजित गरेका हुन् ।

यस्तै शुक्रबार चार खेल हुनेछ । चार वटा क्वाटरफाइनलका खेल हुने अन्तर्राष्ट्रिय भलिबल रेफ्री गौतम प्रसाद लासिवाले जानकारी दिए । जस अनुसार पहिलो खेल सशस्त्र प्रहरीको एपीएफ र लुम्बिनीबीच हुनेछ भने दोस्रो क्वाटरफाइनल सुदुरपश्चिम र बागमतीबीच हुने छ र तेस्रो नेपाल पुलिस क्लब र कर्णालीबीच हुनेछ । चौथो खेल गण्डकी र प्रदेश नम्बर १ बीच हुने आयोजक सञ्जय स्मृति प्रतिष्ठानकी अध्यक्ष निरोज मास्केले जानकारी दिइन् ।

नौ टिमलाई ‘ए’, ‘बी’, ‘सी’ र ‘डी’ समूहमा विभाजन गरिएको छ । प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बलको एपिएफ क्लब, मधेस प्रदेश, बागमती प्रदेश, सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र प्रदेश एक सहभागी छन् । समूह ’ए’ मा मधेस प्रदेश, प्रदेश एक र एपिएफ, समूह ’बी’ मा सुदूरपश्चिम र कर्णाली, समूह ’सी’ मा लुम्बिनी प्रदेश र पुलिस, समूह ’डी’ मा वाग्मती र गण्डकी प्रदेश छन् । महिला बिच भलिबलको विजेताले एक लाख रुपैयाँ र उपविजेताले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतियोगितामा तेस्रो हुनेलाई टाइगर गु्रुप आफ पोखराका अध्यक्ष नारायण प्रसाद शर्माले ३० हजार नगद पुरस्कार दिने घोषणा समेत गरे । कार्यक्रममा नगर प्रमुख अशोककुमार शाहीले खेलकुदको माध्यमबाट पर्यटकलाई ल्याउन सकिने र नगरपालिका हातेमालो गरेर अघि बढ्ने बताए ।

कार्यक्रममा अन्तर्राष्ट्रिय भलिबल रेफ्री गौतम प्रसाद लासिवा, फाउण्डेसनका सल्लाहकार तथा पाल्पाली संगम काठमाडौका अध्यक्ष पदम न्यौपाने, पाल्पा व्यापार संघका अध्यक्ष चिरञ्जीवी पोखरेललगायतले बिच भलिबल पहिलो भए पनि यस क्षेत्रमा सम्भावना पनि उत्तिकै रहेको भनाई राखेका थिए। आजदेखि सुरु भएको खेल शनिबारसम्म संचालन हुनेछ ।

खेलको अनुमानित लागत ३० लाख राखिएको आयोजक संस्थाले जनाएको छ। खेलमा सद्भावन दूतका रुपमा अभिनेता धिरेन शाक्य र महिला भलिबल टिमकी कप्तान अरूणा शाही रहने पनि आयोजक संस्थाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer