पाल्पा । पाल्पा जिल्लासँग अनेक विशेषताहरु जोडिएका छन् । ति विशेषतामा थुप्रै गीतहरु समेत बनेका छन् । पछिल्लो समय पनि त्यस्तै विशेषतासँग जोडेर एउटा गीत बनेको छ, ‘पाल्पाको चुकाउनी’ ।

पाल्पाली ब्राण्ड नै मानिन्छ चुकाउनी । पाल्पाको चुकाउनीले जिल्लामा मात्रै नभएर देशमै प्रसिद्धी कमाएको छ । जिल्ला घुम्न गएकाहरु प्रायहरु पनि पाल्पाको चुकाउनीको स्वाद लिएर फर्किने गरेका छन् ।

पाल्पाको ब्राण्ड मानिने सोही चुकाउनीलाई लिएर ‘पाल्पाको चुकाउनी’बोलको लोकदोहोरी गीत बनेको हो । नयाँ वर्ष २०७९ को अवसर पारेर बिहीबार मात्रै यो गीतको भिडियो युट्युबमा सार्वजनिक गरिएको छ ।

यो गीतको शब्द ‘डाँडै फुर्के सल्लो’, ‘सालको पात टपरी हुने’ जस्तो सुप्रसिद्ध गीत दिएका नवराज पन्तले लेखेका हुन् । दर्जनौं हिट गीत दिएका सुप्रिसिद्ध संगीतकार एवं गायक बसन्त थापाले यस गीतमा संगीत एवं स्वर दिएका छन् । कृष्ण बि.केको एरेन्ज रहेको गीतमा बसन्तसँग गायिका लक्ष्मी मल्लले पनि स्वर दिएकी छिन् ।

दीपकमान सिंहको कोरियोग्राफी एवं निर्देशनमा बनेको गीतको भिडियोमा गीतका संगीतकार एवं गायक बसन्त थापासँगै मोडल एवं निर्देशक सुनिल क्षेत्री र मोडलद्धय स्मारिका–समारिका ढकालको अभिनय छ ।

अजय रेग्मीको छायाँकन रहेको भिडियोलाई विकास ज्ञवालीले सम्पादन गरेका हुन् । गायक एवं संगीतकार बसन्त थापाको ‘बसन्त थापा’ युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो ।

तपाईको प्रतिक्रिया