
तानसेन। पाल्पामा नेकपा एमालेबाट निर्वाचित वडा अध्यक्ष नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । नेकपा एमाले लुम्बिनी प्रदेश सदस्य समेत रहेका राम बहादुर रावल आइतबार पत्रकार सम्मेलन गरी माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।
रावल वि.स. २०७४ सालको स्थानीय तहको निर्वाचनमा तानसेन नगरपालिका वडा नं ५ को अध्यक्षमा नेकपा एमालेको तर्फबाट निर्वाचित भएका थिए ।
उनलाई जिल्ला संयोजक नेत्र प्रसाद पाण्डेय, प्रदेश सांसद तुलाराम घर्ती, केन्द्रीय सदस्य अनिल किशोर घिमिरे लगायतका नेताहरुले पार्टीमा स्वागत गरे ।
पार्टी प्रवेश गर्दै रावलले अहिले माओवादीको एजेण्डामा देश चलेको हुँदा प्रवेश गरेको बताए । उनले कुनै राजनीतिक स्वार्थले प्रवेश नगरेको बताउदै एमालेमा देखिएको गुठबन्दीका कारण माओवादीबाट जनताको सेवा गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।
उनलाई स्वागत गर्दै नेकपा माओवादीका केन्द्रीय सदस्य प्रदेश सदस्य तथा जिल्लास्तरका नेताहरुले निर्वाचनमा गरिएको गठबन्धन दलीय स्वार्थ भन्दा माथिको रहेको र कुनै दललाई जिताउन भन्दा देशलाई जिताउन आफूहरु लागि परेको नेताहरुले बताए ।
रावललाई माओवादी केन्द्रको तर्फबाट तानसेन पाचँको वडा अध्यक्षमा उम्मेदवारी दिने तयारी भएको पनि माओवादी केन्द्रले जनाएको छ ।