काठमाडाैं।अरबी पात्रो हिजरी संवत्अनुसार दशौँ महिना (सौवाल) को पहिलो दिन आज देशभरका मुस्लिम समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर ईदउल फित्र पर्व मनाउँदै छन् ।

दशौँ महिनाको पहिलो दिन आज विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा ठूलाबडाकहाँ गएर आशीर्वाद लिइन्छ । यस पर्वमा आफूभन्दा सानालाई आशीर्वाद दिने गरिन्छ । आशीर्वाद लिन आउने आफन्तलाई सेवई, खजुरलगायत मीठा खानेकुरा खान दिने चलन छ ।

खुसीपूर्वक दान गरेर दीनदुःखी एवं गरीबलाई बाँडिने भएकाले यो पर्वलाई ईदउल फित्र भनिएको हो । अरबी पात्रोअनुसार नवौँ महिनाको अन्तिम दिन चन्द्रमा देखिएपछि ईदउल फित्र मनाउने कार्यक्रम तय हुने गरेको नेपाली जामे मस्जिदका सचिव मन्सुर हुसेनले जानकारी दिए । नवौँ महिनाको अन्तिम दिन बिहीबार बेलुका चन्द्रमा देखिएपछि आज ईदउल फित्र मनाइएको हो ।

 मुस्लिम समुदायको एक महिना लामो व्रत (रोजा) पूरा भएपछि यो पर्व मनाइन्छ । एक वर्षभित्र गरेका पाप कटाउन रमजानसमेत भनिने यो व्रत गरिने मानिन्छ।

एक महिनासम्म दिनभर व्रत गरेर साँझ सूर्यास्तको नमाज पाठ गरिन्छ । बिहान सूर्योदय अघि र बेलुकी सूर्यास्तपछि मात्र मुस्लिम समुदायले नवौँ रमजान महिनामा भोजन गर्छन् ।

यस पर्वका अवसरमा मुस्लिम समुदायले नयाँ कपडा लगाई साथीभाइकहाँ गएर ईदको शुभकामना आदानप्रदान गर्छन् ।

यस अवसरमा आज बिहान नेपाली जामे मस्जिद घण्टाघरमा विशेष नमाज पाठ गरिने सचिव हुसेनले जानकारी दिनुभयो । यस अवसरमा आज नेपाल सरकारले देशभर सार्वजनिक बिदासमेत दिएको छ ।

तपाईको प्रतिक्रिया