पाल्पाको रम्भा गाउँपालिका : फर्जी मत भेटिएको भन्दै पुनः मतदानको माग [प्रेस विज्ञप्तीसहित]

पाल्पा । पाल्पाको रम्भा गाउँपालिकामा पुनः मतदानको माग गरिएको छ । विभिन्न दलहरुले संयुक्त विज्ञप्ती जारी गर्दै मतगणना गर्ने क्रममा फर्जी मत भेटिएको भन्दै पुनः मतदानको माग गरेका हुन् ।

रम्भा गाउँपालिकाका नेकपा एकीकृत समाजवादी, नेपाली कांग्रेस, नेकपा माओवादी र मंगोल नेशनल अर्गनाइजेसनले विज्ञप्ति जारी गर्दै हालसम्म सार्वजनिक नतिजाप्रति असहमति जनाउँदै पुनः मतदानको माग गरेका हुन् । वडा नंं. ५ ताहुँको मतगणना गर्ने क्रममा ७४ मत फर्जी भेटिएको विज्ञप्तीमा उनीहरुले दाबी गरेका छन् ।

मतगणना कार्यमा आवश्यक सीसी टिभी व्यवस्था नगरिएको, मतपेटिका ढुवानी गर्ने क्रममा गठबन्धन दलका प्रतिनिधिहरु सहभागी नगराइएको, आवश्यक विजुलीबत्तिको बैकल्पिक व्यवस्था नगरिएको, मतगणना स्थगित भैसकेपछि पनि दलका प्रतिनिधी नराखिएको, एक पक्षिय व्यक्तिहरुलाई प्रवेश दिईएको जस्ता आरोप पनि उनीहरुले लगाएका छन् । मतपेटिका अँध्यारो तथा अन्य सामाग्री भएका स्थानमा राखिएको, गाउँपालिका भित्रका अन्य मतपत्रहरु पनि सुरक्षित नदेखिएको भन्दै यी कुरामा खेद व्यक्त समेत गरेका छन् ।

विज्ञप्तीमा भनिएको छ, ‘मतगणना कार्यमा संलग्न कर्मचारीहरुलाई नियमानुसार. विभागीय कारवाही तथा पुनः मतदानका लागि माग गर्दै हालसम्म सार्वजनिक नतिजाप्रति असहमति रहेको व्यहोरा जानकारी गराउँदछौं ।’ गाउँपालिकाको मतगणना हिजो रातीदेखि नै रोकिएको छ ।

तपाईको प्रतिक्रिया