
पाल्पा । पाल्पाको निस्दी गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ । गाउँपालिका अध्यक्ष, उपाध्यक्षसहित ७ वटै वडामा नेकपा एमाले प्यानलसहित विजयी भएको हो । एमालेका मुक्त बहादुर सारु ६ हजार ६ सय ५२ मत प्राप्त गर्दै पुनः गाउँपालिका अध्यक्षमा निर्वाचित भएका छन् ।
सारुका निकटतम प्रतिद्वन्द्वी गठबन्धनबाट नेपाली कांग्रेसका गोविन्द प्रसाद अर्यालले ३ हजार ४ सय ६६ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा एमालेकी तिरण कुमारी श्रेष्ठ ६ हजार ६ सय ३८ मतसहित निर्वाचित भएकी हुन् । उनको प्रतिद्धन्द्धी गठबन्धनबाट नेकपा माओवादी केन्द्रका राम प्रसाद खत्रीले ८ सय ३० मत प्राप्त गरेका छन् ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा निस्दीको वडा नं. १ र ७ मा कांग्रेस र बाँकी वडामा एमालेले विजयी हासिल गरेको थियो । यसपटक भने सबै वडामा एमाले प्यानलसहित विजयी भएको हो ।
गाउँपालिकाको वडा नं. १ मा यम बहादुर राना, २ मा फत्तेसिं दर्लामी, ३ मा नविन्द्र सोती, वडा ४ मा सन्तवीर सुनारी, ५ मा दुर्गा बहादुर सोमै, ६ मा मेखबहादुर सुनारी र वडा नं. ७ मुक्त बहादुर पाटाको प्यानल विजयी भएको हो । यसअघि पाल्पाको पूर्वखोला गाउँपालिकामा एमालेले क्लिन स्वीप गरिसकेको छ ।