
पाल्पा । पाल्पाको तानसेन नगरपालिकामा गठबन्धनका उम्मेद्वार विजयी भएका छन् । एमालेका उम्मेद्वारलाई पछि पार्दै नगर प्रमुख (मेयर), उपप्रमुख (उपमेयर) र बहुमत वडा गठबन्धनले जितेको हो ।
नगर प्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार सन्तोषलाल श्रेष्ठ ११ हजार २ सय ७३ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी एमालेका धनेन्द्रराज घिमिरेले १० हजार ३ सय ९४ मत प्राप्त गरेका छन् ।
उपप्रमुखमा गठबन्धनबाट (नेकपा माओवादी केन्द्र)की प्रतिक्षा सिंजाली ११ हजार १ सय ५१ मत प्राप्त गरी विजयी हुँदा उनका प्रतिस्पर्धी नेकपा एमालेकी शशी श्रेष्ठले १० हजार ३ सय ७२ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय तानसेनले जानकारी दिएको छ । तानसेनमा २३ हजार २ सय ५५ मत खसेको थियो । तानसेनमा २०७४ को निर्वाचनमा प्रमुख, उपप्रमुख दुबै पदमा एमाले फराकिलो मतान्तरले विजयी भएको थियो ।

१४ मध्ये १० वडामा गठबन्धन, ४ मा एमाले
१४ वडा रहेको तानसेनमा यसपटक १० वटा वडा गठबन्धनले जितेको छ । वडा नंं. १ मा गठबन्धनतर्फबाट कांग्रेसका सुनिल कुमार बस्याल, २ महेश्वरलाल श्रेष्ठ, ३ मा बाबुरत्न शाक्य, ४ मा हेमन्त राज शाक्य विजयी भए । वडा नं. ५ को वडाध्यक्षमा गठबन्धनबाट माओवादी केन्द्रका रामबहादुर रावल विजयी हुँदा ६ मा कांग्रेसका सागरमान मर्हजन, ७ मा प्रदीप खनाल विजयी भए ।
वडा नं. ८, ९ र १० मा नेकपा एमालेका उम्मेदवारहरु क्रमशः सोमनाथ अर्याल, राजेशकुमार अर्याल र हिमलाल पंगेनी वडाध्यक्षमा विजयी भए । वडा नं. ११ मा कांग्रेसका यादवसिंह कार्की, १२ मा कांग्रेसकै मेजरसिंह केसी, १३ मा माओवादी केन्द्रका टुकप्रसाद भट्टराई विजयी भए भने वडा नं. १४ मा नेकपा एमालेका शोभाखर भट्टराई वडाध्यक्षमा विजयी भएका छन् ।