
पाल्पा । तानसेन नगरपालिकाको उपमेयरमा विजयी प्रतिक्षा सिंजालीले आफूहरुलाई मत दिएर विजयी बनाउने तानसेनबासीहरुप्रति कृतज्ञता प्रकट गरेकी छिन् ।
पाँच दलिय गठबन्धनको तर्फबाट उम्मेदवारी दिएकी माओवादी केन्द्रकी सिंजालीले नेकपा एमालेकी उम्मेदवार शशी श्रेष्ठलाई हराउँदै उपमेयरमा विजयी बनेकी हुन् । उपमेयरमा विजयी भएसँगै सिंजालीले अब आफूहरुको ध्यान समग्र तानसेनको समृद्धी र यहाँका जनताको जीवनस्तर अझ माथी उठाउनेतर्फ रहने बताएकी छिन् ।
यो पनि पढ्नुहोस् : तानसेन नगरपालिकाको मेयरमा कांग्रेसका श्रेष्ठ र उपमेयरमा माओवादी केन्द्रकी सिंजाली विजयी

‘हामीहरु पाँचदलिय गठबन्धनको तर्फबाट उम्मेदवारी दिएर विजयी भएको भएतापनी अब हाम्रो ध्यान समग्र तानसेनको समृद्धी र यहाँका जनताको जीवनस्तर अझ माथी उठाउनेतर्फ रहनेछ’ सिंजालीले फेसबुकमा लेखेकी छिन्, ‘हामीले तानसेनका सबै वडा र सबै जनतालाई समान प्रकारले व्यवहार गरी पालिकाका योजनाहरु बनाउने र पारदर्शी ढङ्गबाट कार्यान्वयन गर्ने प्रतिबद्धता पनि जाहेर गर्न चाहान्छौं ।’
तानसेनको मेयरमा भने नेपाली कांग्रेसका सन्तोषलाल श्रेष्ठ विजयी भएका छन् ।