मुस्ताङसम्मको ‘उल्टो पैदल यात्रा’मा हिँडेका ऋषि तानसेनमा [केही तस्वीरहरु]

नयाँधार संवाददाता

पाल्पा । पछाडि कालो झोला, संगै नेपालको राष्ट्रिय झण्डा भिरेका । शिरमा रातो टोपी, आँखामा कालो चस्मा, गलामा रुद्राक्षको माला र खादा पहिरिएका । जब ति व्यक्ती उल्टो हिँडदै तानसेनको शित्तलपाटीस्थित मूलढोकाबाट दरबारतर्फ लागे, उनलाई चिन्न गाह्रो भएन ।

किनकी दुई–तीन दिनयता पाल्पाको केराबारी, बाँस्टारी, बर्तुङमा स्थानीयहरुले बाटोमा फूल, मालाले स्वागत गरेको भिडियो, फोटो फेसबुकमा राखिसकेका थिए । उनी थिए, उल्टो पैदल यात्री दाङका ३० वर्षीय ऋषि परियार ।

यी ठिटोले केही साताअघि ६२ दिन उल्टो हिँडेर पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मको पैदल यात्रा सकिसकेका छन् । उनै ऋषि यतिबेला भने मुस्ताङसम्मको उल्टो पैदल यात्राका क्रममा छन् । सो क्रममा उनी बिहीबार बेलुका तानसेन आईपुगेका थिए ।

‘बुटवलको पुष्पलाल चोकदेखि उल्टो पैदल यात्रा शुरु गरेको हुँ’ दरबार परिषरमा ऋषिले नयाँधारसँग भने, ‘अहिले तानसेन घुमिरहेको छु । यहाँबाट स्याङजा, पोखरा हुँदै मुस्ताङ जानेछु ।’ बाटोमा उनलाई देख्दासाथ फूल मालाले स्वागत गर्नेहरु हुन्छन् । फोटो खिचाउन आउनेहरु उत्तिकै हुन्छन् । उनी रोकिन्छन, फोटो खिचाउँछन् अनि हिँडछन् । यसैगरी बुटवलदेखि तीन दिनमा तानसेन आईपुगेका उनी २५–२६ दिनमा मुस्ताङ पुग्ने अनुमान सुनाए ।

‘पर्यटन प्रबद्र्धनका लागि मुस्ताङसम्मको उल्टो पैदल यात्रा’ नाराका साथ यात्रामा निस्किएको ऋषिले बताए । यसअघि उनी ‘हिडौं स्वस्थ रहौं’ भन्ने नारा सहित सयौं किलोमिटर हिँडेर मेचि महाकाली उल्टो पैदलयात्रा पुरा गरेका थिए । त्यसका साथै आफ्नो र देशको चिनारी बनाउने उद्धेश्यले पनि मेचि महाकाली उल्टो पैदलयात्रा गरेको उनले सुनाए । ‘मेचि महाकाली उल्टो पैदल यात्रा सकेपछि गिनिज बुक अफ वर्ड रेकर्डका लागि प्रक्रिया शुरु गरिसकेको छु । वल्र्ड रेकर्ड राखेर नेपाललाई नै विश्वसामु चिनाउन चाहन्छु’ उनले भने ।

यसपटक पर्यटन प्रबद्र्धनका साथै ‘हिडौं स्वस्थ रहौं’ भन्ने सन्देश दिन उल्टो पैदल यात्रा गरिरहेको बताए । ‘स्वास्थ्यको लागि हिँड्नु राम्रो हो । हिँडेपछि स्वस्थ्य भइन्छ भन्ने कुरा सबैलाई थाहा छ’ संक्षित कुराकानीमा उनले भने –‘हिँडेर स्वस्थ्य बन्नका लागि फेरी उल्टै हिँडनुपर्छ भन्ने मेरो भाव होइन् । हामी सुल्टो हिँडौं तर समयलाई मध्यनजर गरेर हिँडौं । दिनमा केही समय पैदल हिँडयौं भने पनि स्वस्थ रहन सकिन्छ ।’

तपाईको प्रतिक्रिया