
पाल्पा । जिल्लाको रम्भा गाउँपालिकामा ६ दिनदेखि स्थगित मतगणना अझै सुरु हुन सकेको छैन् ।
आज (शुक्रबार) बिहानैदेखि मतगणना गर्ने भनिएपनि अहिलेसम्म (११ बजे)सम्म सुरु हुन नसकेको हो । निर्वाचन आयोगले कर्मचारी व्यवस्थापन गरेर मतगणना सुरु गर्न निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको थियो ।
रम्भा गाउँपालिकाका निर्वाचन अधिकृत कृष्ण प्रसाद भण्डारीले अहिले मतगणना सुरु गर्नका लागि दलहरुसंग छलफल चलिरहेको बताए ।
उनले भने, ‘पहिले वडा नं. ५ ताहुँको पुनः गणना सुरु गर्ने, त्यसपछि अरु वडाको सुरु गर्ने भन्ने छ । ५ नंं. वडाको पुनः गणना हुँदा मिल्यो ठिकै छ नमिले अर्धकट्टी सबै हेछौं ।’
दिउँसो १/२ बजेसम्ममा सुरु गर्ने गरी छलफलमा रहेको बताए । रम्भा –५ ताहुँको मतगणनामा ७४ फर्जी मत भेटिएपछि गणना कार्य स्थगित भएको थियो ।
सत्तारुढ गठबन्धनका विभिन्न दलहरुले विज्ञप्ति जारी गर्दै सार्वजनिक नतिजाप्रति असहमति जनाउँदै पुनः मतदानको माग गरेका छन् । मतगणनास्थलमा गठबन्धनका कार्यकर्ता र प्रहरीबीच झडप समेत भएको थियो । निष्कर्णका लागि सरोकारवाला पक्षसँग विभिन्न चरणमा छलफल समेत भएको थियो ।