तानसेनबासीलाई प्रश्न: नवनिर्वाचित जनप्रतिनिधिले के कामलाई प्राथमिकता दिनुपर्ला ?

पाल्पा । स्थानीय तह निर्वाचनमार्फत फेरी पाँच वर्षका लागि जनप्रतिनिधि निर्वाचित भएका छन् । तानसेनबासीले पनि पाँच वर्षका लागि नयाँ जनप्रतिनिधि चुनेका छन् । निर्वाचित जनप्रतिनिधिहरुले पदबहाली समेत गरिसकेका छन् ।

‘नव निर्वाचित जनप्रतिनिधिहरुले के कामलाई मुख्य प्राथमिकता दिनुपर्ला ?’ नयाँधार टिमले तानसेनका केही स्थानीयहरुसँग जिज्ञासा राखेको छ । प्रस्तुत छ उनीहरुको जवाफ जस्ताको त्यस्तै ।

बसन्त बस्याल – ता.न.पा ११ (फर्निचर व्यवसाय)
तानसेन नगरपालिकाका केही वडाहरु ग्रामीण भेगमा पनि रहेका छन् । नयाँ जनप्रतिनिनिहरुले बजार र ग्रामीण क्षेत्रलाई संगसंगै समेटेर विकासमा ध्यान दिनुपर्छ । त्यसमा पनि शिक्षाको क्षेत्रमा बढी जोड दिनुपर्छ जस्तो लाग्छ । शिक्षाको क्षेत्रमा जोड दिँदा पनि बजारको भन्दा ग्रामीण क्षेत्रलाई बढी ध्यान दिएर काम गर्नुपर्छ जस्तो लाग्छ ।

सिर्जना खनाल – ता.न.पा ४ बारुदखान (लहरेपिपलमा किराना पसल)
तानसेनमा खानेपानीको समस्या वर्षौदेखिको हो । नगरको फोहोर व्यवस्थापनमा पनि पहिल्यैदेखि समस्या देखिँदै आएको छ । यी समस्याहरुलाई सुधार गर्न नवनिर्वाचित जनप्रतिनिधिहरुले प्राथमिकता दिनुपर्छ जस्तो लाग्छ । अर्को विद्युत कटौती पनि यहाँको प्रमुख समस्या हो । अझ पछिल्ला केही दिनयता विद्युतमा अझ बढी समस्या देखिएको छ । यसमा पनि जनप्रतिनिधिले प्राथमिकता दिएर सुधार गर्नुपर्छ भन्ने लाग्छ ।

शिव पाण्डे – ता.न.पा १४ (शिक्षण पेशामा आवद्ध एवं ता.न.पा ४ विशालबजारमा स्टेशनरी व्यवसाय)
निर्वाचित जनप्रतिनिधिहरुले अहिलेको समयसापेक्ष अनुसार समानतामूलक विकास नभई समतामूलक साथै दिगो विकासका कार्यक्रमलाई अगाडि बढाई बृद्ध, युवा र महिलाको लागि रोजगारका कुरालाई प्रमुख प्राथमिकता दिनुपर्छ जस्तो लाग्छ ।

सूर्य थापा – ता.न.पा ११ (मखनटोलमा ढाका पसल)
नयाँ जनप्रतिनिधिहरु चुनिनुभएको छ । सर्वप्रथम उहाँहरुलाई बधाई सँगै शुभकामना दिन चाहान्छु । तानसेनका जनप्रतिनिधिहरुको सन्दर्भमा उहाँहरुले मुख्य यहाँको पर्यटनको क्षेत्रमा ध्यान दिनुपर्छ भन्छु । बाहिरबाट धेरै पर्यटकहरु आउनुहुन्छ, उहाँहरुलाई घुम्ने राम्रो व्यवस्था हुँदैन् । दरवार घुम्न आउनेहरु धेरै हुनुहुन्छ, दरवार बिहानदेखि साँझ ७ बजेसम्मै खुल्नुपर्छ जस्तो लाग्छ । पाल्पा घुम्न आउनेहरु धेरै भएपनि यहाँ उहाँहरु भुल्ने खालका गन्तव्य केही छैन् । जनप्रतिनिधिले पर्यटनको क्षेत्रलाई विशेष ध्यान दिनुपर्छ भन्छु । त्यसपछि स्वास्थ्य, शिक्षाको क्षेत्रमा काम गर्नुपर्छ । यहाँको सडकहरु व्यवस्थित छैन्, फोहोरमैला व्यवस्थापन पनि राम्रोसँग भएको पाइँदैन् । यी सबै कुरालाई ध्यान दिएर नवनिर्वाचित जनप्रतिनिधिहरुले काम गर्नुपर्छ भन्न चाहान्छु ।

आइषा बानु – ता.न.पा ४ (मखनटोलमा फेन्सी पसल)
नगरपालिका भएपनि यहाँ सरसफाइ व्यवस्थित छैन् । पसलअगाडि सडकमा सरसफाई राम्रो हुँदैन् । विहान आएर हामी आफैले सरसफाई गर्नुपर्ने अवस्था छ, यसमा जनप्रतिनिधिले ध्यान दिनुपर्छ । मलाई त सबैभन्दा बढी यसमै ध्यान दिए हुन्थ्यो जस्तो लाग्छ । महिलाहरुको लागि पनि उपलब्धिमूलक कामहरु गर्नुपर्छ भन्छु ।

कलाम अली – ता.न.पा. ४ (मखनटोलमा फेन्सी पसल)
नवनिर्वाचित जनप्रतिनिधिले तानसेनको खानेपानी समस्या, त्यसपछि बाटोको लागि राम्रोसँग काम गर्छुपर्छ । त्यो भयो भने जनताहरु खुशी हुन्छन् जस्तो लाग्छ । सदरमुकाम तानसेनमा पहिले निकै चहलपहल हुन्थ्यो । पहिलेको जून चहलपहल थियो त्यो अवस्थामा ल्याउन पनि जनप्रतिनिधिरुले विशेष ध्यान दिएर काम गरे राम्रो हुन्थ्यो ।

तपाईको प्रतिक्रिया