पाल्पा । बगनासकाली गाउँपालिकाकी अध्यक्ष सरस्वती चिदीले पाँच वर्षमा आफूले बटुलेको अनुभवलाई भरपूर रुपमा प्रयोग गर्ने बताएकी छिन् ।

चिदीले यसअघि उपाध्यक्ष पदमा रहेर एक कार्यकाल पूरा गरिसकेकी छिन् । अध्यक्षमा निर्वाचित भएर पदभार ग्रहण गरेसँगै चिदीले पहिलो कार्यकालमा सुरु गरेका कार्यक्रम एवं योजनाहरुलाई पूरा गर्नतर्फ लाग्ने आफूहरुको पहिलो प्राथमिकता हुने बताइन् ।

उनले सुरुवात गरेर अपूरा रहेका कार्यक्रम एवं योजनाहरु सम्पन्न गर्नेगरी काम गर्ने बताएकी हुन् । नयाँधारसँगको कुराकानीमा उनले बगनासकाली गाउँपालिकाको समृद्धि र विकासको लागि काम गर्ने बताइन् । उनले भनिन् – ‘बगनासकाली गाउँपालिकालाई पाल्पा जिल्लाकै नमूना गाउँपालिका बनाउनका लागि मेरो मुख्य पहल रहनेछ ।’

सिमान्तकृत, दलित समुदायको उत्थानका लागि विभिन्न कार्यक्रमहरु ल्याउने चिदीले बताईन् । व्यवसायिक बनाएर आर्थिक हिसाबले बलियो बनाउन सके हरेक क्षेत्रमा सिमान्तकृत एवं दलित समुदायको समान सहभागीता रहने विश्वास उनले व्यक्त गरिन् ।

महिला उद्यमशिलता र युवा स्वरोजगारका पक्षमा काम गर्ने चिदीले बताइन् । समस्याका रुपमा रहेको खानेपानीको अभाव हटाउन एक घर एक धारा कार्यक्रम लागू गर्दै निःशुल्क पानी वितरणमा पहल गर्ने उनले बताइन् । यस्तै, दलित र विपन्न परिवारका लागि निःशुल्क स्वास्थ्य बीमाका कार्यक्रम ल्याउने पनि उनले बताइन् । उनले गाउँपालिकाका मुख्य सडकलाई धूलो र हिलोमुक्त बनाउने गरी स्तरोन्नती गर्ने बताइन् ।

बगनासकाली कृषि र पशुमा सम्भावना रहेको गाउँपालिका भएकाले हरेक परिवारलाई कृषि र पशुपालनमा व्यवसायिक बनाउनमा पहल गर्ने चिदीले बताएकी छिन् । बैदेशिक रोजगारबाट फर्किएका र जाने तयारीमा रहेका युवाहरुलाई व्यवसायमा आवद्ध गरेर बैदेशिक रोजगारमा जानका लागि रोक्ने खालका कार्यक्रम ल्याउने बताइन् ।

चिदी पाल्पाकै पहिलो महिला पालिका अध्यक्ष हुन् ।

तपाईको प्रतिक्रिया