
पाल्पा। आज विश्व वातावरण दिवस । ‘दिगो प्रकृतिमैत्री जीवनयापनः पृथ्वीको संरक्षण’ भन्ने नारासहित यो वर्ष पनि विश्व वातावरण दिवस मनाइएको छ । तर यसरी मनाइने दिवसले वातावरण संरक्षणमा खासै सहयोग नपुगेको विज्ञहरूकाे भनाई छ।
खासगरी पहाडी जिल्लाहरुमा हरेक वर्ष यो दिवसका अवसरमा वृक्षा रोपण र सरसफाई गरी दिवस मनाइदै आएको पाइन्छ । पछिल्लो समय सामाजिक सञ्जाल र मिडियामा दिवसको ठूलै प्रचार देखिए पनि उपलब्धि नदेखिएको पाल्पाका स्थानीयले बताएका छन् ।
पहाडी जिल्ला पाल्पामा दिवस मनाएकै केही दिनदेखि पहिरो र भूक्षयका घटना बढ्ने गरेको उदाहरण रहेको छ । वर्षायाम सुरु हुने बेला पर्ने यो दिवसमा लगाइएको बोट विरुवाको संरक्षणमा कसैको चासो नपुग्दा दिवसले सार्थकता पाउन सकेको छैन। यस्तै पछिल्लो केही वर्षयता स्थानीय तहदेखि प्रदेश र संघीय सरकारबाट निर्माण गरिएको सडक, पूर्वाधार र अन्य संरचनाको निर्माणका क्रममा जथाभावी माटो फाल्ने क्रम बढेका कारण वर्षेनी बाढी र पहिरोका घटना समेत बढ्ने गरेको छ ।
पाल्पालगायत पहाडि जिल्लाहरुमा पछिल्ला वर्षहरुमा पहिरोका कारण धनजनको क्षति पनि बढ्दो छ । वातावरणको संरक्षण गरी दिगो विकासमा लक्ष्या हासिल गर्न लागि परेका स्थानीय निकायका नारा पनि नारामै सिमित भएको बगनासकाली गाउँपालिका ४ का स्थानीय मदन अर्यालले बताए ।
यस्तै पाल्पाका विभिन्न स्थानमा संचालित करिब एक दर्जन चुनढुंगा खानीबाट निस्किएको माटोको व्यवस्थापन गर्न नसक्दा सडक हुँदै गाउँबस्ती नै धुलो, धुवाको सास्तीसंगै पहिरोको जोखिममा पर्ने गरेका छन् ।
एकातिर सरकारले वातावरण संरक्षणका नारा लगाउँदै गर्दा आफूहरुको गुनासो कसैले नसुनेको गुनासो निस्दी गाउँपालिका स्थानीय बेल प्रसाद परियारले गरे । ”धुलो र धुवाको सास्ती छदैँछ । कम्पनीले टिपर गुड्ने बाटोमा पानी पनि हाल्दैन, घर नजिकै सुरुङ खनेका कारण गाडी हिड्दा घर नै थर्किन्छ।रातिको समयमा निधाउदा पनि घर भासिने होकी भन्ने चिन्ता लाग्छ । हाम्रो त बस्ती नै सारिदिए हुन्थ्याे।” उनले भने
उनी मात्रै होईन यो समस्या माथागढी, तिनाउ र रैनादेवी छहराका चुनदुंगा खानी नजिक बस्ने सबै स्थानीयको हो । खानी संचालन भएका बस्तीका नागरिक र खानीबाट टिपरमा चुन बोक्दा उडेको धुलोले सडकछेउका नागिरकका बस्तुभाउले घासँ नखाने तथा विभिन्न रोगको समस्या समेत देखिएको छ ।
यती मात्रै होइन, चुनढुंगा बोक्दै हजारबढी टिपरका कारण तराईसंग जोडिने सिद्धार्थ राजमार्गको पाल्पा खण्डको अवस्था समेत जीर्ण बन्दै गएको छ ।
उसो त डिभिजन वन कार्यालयले खानीको अनुगमन गरी मापदण्ड अनुसार खानी संचालन गर्न निर्देशन दिएको र केही खानी संचालनमा रोक समेत लगाएको छ ।
पाल्पास्थित सारेकारवालसंगको पटक-पटकको छलफल अनुगमनपछि अहिले मापदण्ड अनुसार काम गर्न गराउन खानी संचालकलाई परिपत्र गरिएको र अटेरी गरेमा कारबाही गरिने डिभिजन वन कार्यालय पालपाका प्रमुख दिपक ज्ञवालीले बताए ।
यस्तै अन्य पूर्वाधार निर्माण र वातावराण प्रतिकुल हुने गरी भएगरेका काम रोक्न र वातावरणीय प्रभाव मुल्यांकन गरेर मात्रै काम गर्ने र गराउने दिशामा समन्वय गर्न जिललाबासीले अनुरोध गर्दै आएका छन् ।