तानसेन। जिल्ला समन्वय समिति पाल्पाको निर्वाचन असार ३ गते हुने भएको छ । सबै प्रकृया पुरा गरी असार ३ गते निर्वाचन गर्ने तयारी गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार जेठ ३१ गते मतदाताको नामवली प्रकाशन गर्ने, नामावली सच्याउने, मतदाताको विरोधमा उजुरी दिने, मतदाताको विरोधमा परेको उजुरीउपर जाँचबुझ गर्ने र अन्तिम मतदाता नामावली प्रकाशन गर्ने, असार १ गते उम्मेदवारको मनोनयन दर्ता गर्ने, मनोनयनपत्र दर्ता भएका उम्मेदवारको सूची प्रकाशन गर्ने, उम्मेदवारको विरोधमा उजुरी दिने, मनोनयनपत्रको जाँच र उजुरीउपर निर्णय गर्ने, उम्मेदवारीको नामावली प्रकाशन गर्ने, उम्मेदवारले नाम फिर्ता लिने, उम्मेदवारको अन्तिम नामवली प्रकाशन गर्ने र उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
निर्वाचनमा जिल्लाका दश स्थानीय तहका २० जना जनप्रतिनिधिले भाग लिने छन् । दुई नगरपालिकासहित आठ गाउँपालिकाबाट सहभागि हुने निर्वाचनमा पाँच दलीय गठबन्धनको तर्फबाट प्रमुखमा नेपाली कांग्रेसका यमलाल तिमिल्सिना र उपप्रमुखमा नेकपा (माओवादी केन्द्र)का कृष्ण भुसालले उम्मेदवारी दिने बताइएको छ ।
यस्तै नेकपा (एमाले) को तर्फबाट प्रमुखमा टङ्क खनाल तथा उपप्रमुखमा काशिका गैरे र वसन्ता ज्ञवालीको नाम अद्ध्र स्थानमा रहेको नेकपा एमाले पालपाले जनाएको छ ।
हालै सम्पन्न निर्वाचनमा एमालेको तर्फबाट ११ जना मतदाता निर्वाचित भएका छन् भने गठबन्धन दलबाट ९ जना मतदाता विजयी भएका छन् ।