तानसेन। पाल्पामा सहकारी संस्थाबाट ५ लाखभन्दा बढीको चोरी भएको छ। जिल्लाको बगनासकाली गाउँपालिका वडा नं.–८ मा रहेको बगनासकाली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडबाट गएराति ५ लाख २८ हजार ३७३ रुपैयाँ नगद चोरी भएको हो ।
रातको समयमा कार्यालय तोडफाड गरेर चोरी भएको सहकारी संस्थाका अध्यक्ष कृष्ण भुषालले बताए । भुषालका अनुसार रातिको समयमा भल्ट नै फुटालेर नगद चोरी भएको हो । चोरीको प्रकृति हेर्दा चोर पेसेवर नै भएको आशंका आफूहरुले गरेको भुषालले बताए ।
उनले भने ”आज स्थानीय प्रशासनलाई जानकारी गराएका छौं। प्रहरी टोली रातिको समयमा पनि अवलोकन गर्न हिड्नु भएको छ । चोरले दराज फुटालेको र चेक लगायतका सामग्री पनि यत्रतत्र छरेर हिडेके छ ।”
नगद मात्रै चोरी गर्ने उद्देश्यले परेका कारण कम्पुटर र अन्य यन्त्रमा भने यथावत रहेको भुषालले बताए । चोरले सहकारीमा रहेको ३३ हजार नगद भने कागजातभित्र रहेका कारण नदेखेर छाडेको सहकारी संस्थाले जनाएको छ ।