
तानसेन। नेपाल कम्यूनिष्ट पार्टी माओवादी (केन्द्र) जिल्ला कमिटी पाल्पाले स्थानीय तह निर्वाचनको समिक्षा गरेको छ ।
जिल्ला सदरमुकाम तानसेनमा आयोजित कार्यक्रम निर्वाचन समिक्षाका साथै पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई बधाई ज्ञापन गरिएको पार्टीले जनाएको छ ।
कार्यक्रमका प्रमुख अथिथि केन्द्रीय सदस्य एवं प्रदेश सभा सदस्य तुलाराम घर्ती (बसन्त)ले माओवादी जनयुद्धको उपलव्धी स्वरुप देशमा आएको संघीयताको रक्षा र विकासमा समेत माओवादी पार्टीको मुख्य भूमिका रहेको बताए ।
उनले जनताप्रति पूर्ण बफादार रही पार्टीको नीति सिद्धान्त अनुसार काम गर्न पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई आग्रह पनि गरे । अहिले देशमा देखिएको संकट समाधान, विकास र समृद्धिको यात्रामा माओवादी पार्टी मात्रै सफल रहेकोले जिकिर गरे ।
कार्यक्रममा माओवादी केन्द्रका पाल्पा जिल्ला सहइन्चार्ज तथा केन्द्रीय सदस्य अनिल किशोर घिमिरेले संघीयताको एजेन्डा माओवादीको भएको तर नेतृत्व संघीयता र गणतन्त्र विरोधी शक्तिको भएकाले देशमा अस्थिरता निम्तिएको बताए ।
जिल्ला संयोजक नेत्र प्रसाद पाण्डेय, प्रदेश सहसचिव पार्वती विक, जीतबहादुर थापा, चक्रव्युह थापालगायतले निर्वाचित जनप्रतिनिधिलाई इमान्दारिता, पार्दरर्शीता भएर नमुना काम गर्न शुभकामना दिए ।
नव निर्वाचित जनप्रतिनिधिहरु रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायण बहादुर कार्की, रैनादेवी छहराका उपाध्यक्ष युवराज थापा, तानसेनका उपमेयर प्रतिक्षा सिंजालीलयायतले पार्टी र जनताले सुम्पेको जिम्मेवारी कर्तव्य निष्ट भएर पूरा गर्ने प्रतिबद्धतासेमत व्यक्त गरेका थिए ।
सो कार्यक्रममा सबै स्थानीय तहमा खटिएका इन्चार्ज तथा संयोजकहरुले स्थानीय तह निर्वाचनको समिक्षात्मक रिपोर्ट प्रस्तुत गरेका थिए ।