
काठमाडौं। हाल नेपालका चार प्रदेशमा मनसुनी वायुको असर देखिएका छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, मधेश, बागमती र गण्डकीमा मनसुनी वायु प्रभाव देखिएको हो ।
बाँकी क्षेत्रमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको उत्तर प्रदेश र बिहारमा रहेको पूर्वपश्चिमी न्यून चापीय रेखाको पनि प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
हाल देशभर आंशिकदेखि सामान्य बदली रहि प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ ।
सोमबार बिहानदेखि बिहान प्रदेश १, मधेश, बागमती, लुम्बिनी र सुदूरपश्चिमका थोरै स्थानमा हल्का वर्षा भएको हो। दिउँसो प्रदेश १, मधेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही र बाँकी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
प्रदेश १, मधेश प्रदेश, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले उक्त प्रदेशहरूको पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको महाशाखाले जनाएको छ।
साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन र यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन अनुरोधसमेत गरेको छ।
यस्तै मंगलबार प्रदेश १, मधेश, बागमती र गण्डकीका धेरै स्थानमा वर्षाको सम्भावना छ र, बाँकी प्रदेशका केही स्थानमा वर्षाको आँकलन गरिएको छ ।
बुधबार प्रदेश १ को केही र मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै र बाँकी प्रदेशका एक-दुई स्थानहरुमा मेघ गर्जनरचट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।