
तानसेन। पाल्पाको बगनासकाली गाउँपालिकाले सर्वपक्षीय सर्वदलीय बैठकबाट सुझाव संकलन गरेर नीति तथा कार्यक्रम ल्याउने भएको छ। पालिकाले जिल्लाका पत्रकार, राजनीतिक दल, सबै विद्यालयका प्रअहरु, बाल तथा युवा क्लवका प्रतिनिधिलगायत पालिका स्तरका सबैसंग छलफलपछि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने भएको हो ।
पालिकाले चरणवद्ध रुपमा सुझाव संकलन गरी आएका सुझाव समेटेर नीति तथा कार्यक्रम तथा आगामी आर्थिक वर्षको बजेट बनाउने जनाएको छ ।
पत्रकारहरुसंगको छलफलका क्रममा गाउँपालिकाकी अध्यक्ष सरस्वती दर्लामी चिदीले आगामी आर्थिक वर्षभित्रै सबै बाटोलाई हिलो र धुलोमुक्त बनाउने बताइन् । यस्तै सुशासनसहितको सेवा प्रवाहलाई मुख्य प्राथमिकतामा राखेर काम गर्ने र हरेक नागरिकको मन छुने र विकासको मोडल परिवर्तन गरि नमुना गाउँपालिका बनाउने कार्यक्रम अघि साथै अध्यक्ष चिदीले बताईन् ।
“वडा स्तरमा अधिकतम अधिकार प्रत्यायोजन गर्ने छौं । नेपाल सरकारको दिगो विकासको नीतिलाई आधार मानेर जनताको आवश्यकता अनुसार योजना बनाउने र वडा तथा स्वास्थ्य कार्यालय भवनहरु निर्माण गर्ने र पालिकाका सबै किसानलाई व्यवसायिकरण गरी कृषि र पशु क्षेत्रमा आत्मनिर्भर बनाउने योजना ल्याउने छौं।” अध्यक्ष चिदीले भनिन् ।
सोही कार्यक्रममा गाउँपालिका उपाध्यक्ष हरि प्रसाद पाठकले नीतिगत भ्रष्ट्राचार रोक्दै सबैखाले भ्रष्ट्राचार हुन नदिने प्रतिबद्धता जनाए । उनले अघिल्लो सरकारले गरेका राम्रा कामलाई निरन्तरात दिँदै आवधिक योजना निर्माण गरी सोको कार्यान्वयनमा पालिका लाग्ने बताए ।
यस्तै गाउँपालिकाका प्रवक्ता टीकाबहादुर थापाले सञ्चार क्षेत्रसंग जोडिएर सुचनाको क्षेत्रमा हुने खर्च पारदर्शी हुने प्रतिवद्धता व्यक्त गरे । प्रवक्ता थापाले वर्षको कम्तिमा ३ पटक खर्च सार्वजनिक गर्ने तथा सञ्चार क्षेत्रबाट आएको सुझावलाई कार्यान्वयन गर्ने बताए ।
कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत विष्णु घर्तीले सबै पक्षको सुझाव संकलन गरेर नीति तथा कार्यक्रम निर्माण गर्ने प्रयास गरेको बताए । यस्तै पत्रकार महासंघ पाल्पाका उपाध्यक्ष भरत शर्माले नीति तथा कार्यक्रममा समेटिएका विषय कार्यान्वयन गर्न चुनौती रहेको भन्दै बगनासकालीले सुरु गरेको कार्यले सफलता पुर्याउन पत्रकार सकारात्मक रहेको बताए ।
्र
पत्रकार महासंघ पाल्पाका पुर्व अध्यक्ष गोविन्द भट्टराई, बगनासकाली पत्रकार समूहका अध्यक्ष दिपक ढुङ्गानालगायतले कृषि उत्पादन, भौतिक पुर्वाधार, आत्मनिर्भरता, बगनासे साँचोको विस्तार, माटोको भाँडा प्रवर्धन, मादल व्यवसायी लगायतलाई छुनेगरी नीति तथा कार्यक्रम बनाउन सुझाव दिएका थिए ।
यस्तै पत्रकारहरु कृष्ण पोखरेल, किरण कौशल, भोजराज भट्टराई, विष्णु घिमिरे, विजय बौडेल, नेत्र गैरे, जगदिश भट्टराई, कृष्ण कार्की, भोजराज तिमिल्सेना, यज्ञमुर्ती तिमिल्सेना, रामचन्द्र रायमाझीलगायतले कृषि, पर्यटन, मिडिया सवलिकरण शुसासन र पारदर्शिताका साथै दलित, विपन्न वर्गको हितका पक्षमा कार्याक्रम ल्याउन सुझाव दिएका थिए ।

यस्तै पालिका स्तरीय अन्य संघ संस्थासंग पनि छलफल गरी सुझाव संकलन भएको र सोही आधारमा नीति तथा कार्यक्रम निर्माण भइरहेको गाउँपालिकाले जनाएको छ ।