निस्दीले एकल पुरुषलाई भत्ता दिने

तनसेन। पाल्पाको निस्दी गाउँपालिकाले एकल पुरुषलाई सामाजिक सुरक्षाभत्ता उपलब्ध गराउने भएको छ ।

एघारौँ गाउँसभामार्फत नीति तथा कार्यक्रमसहित बजेट सार्वजनिक गर्दै गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारुले पालिकामा बसोबास गर्ने ६० वर्ष उमेर पुगेका एकल पुरुषलाई सामाजिक सुरक्षाभत्ताको व्यवस्था गर्ने बताएका हुन् ।

अध्यक्ष सारुले ‘ग’ वर्गको अपाङ्गता भएका व्यक्तिहरूलाई सामाजिक सुरक्षाभत्ता उपलब्ध गराउने पनि बताएका छन् ।

सरकारको नीतिअनुसार यसअघि ‘क’ र ‘ख’ वर्गको परिचयपत्र प्राप्त गर्ने अपाङ्गता भएका व्यक्तिलाई सामाजिक सुरक्षाभत्ता उपलब्ध हुँदै आएकामा गाउँपालिकाले ‘ग’ वर्गका अपाङ्गता भएका व्यक्तिलाई सामाजिक सुरक्षाभत्ताको व्यवस्था गर्न लागेको अध्यक्ष्ँ सारुले बताए ।

पालिकाले सामाजिक सुरक्षाभत्ता कार्यक्रम नीति तथा कार्यक्रममा राखिएको र आगामी साउन १ देखि नै भत्ता दिन सुरु गरिने गाउँपालिकका प्रमुख प्रशासकीय अधिकृत राजु नेपालले बताए । जसका लागि कार्यविधि निर्माण गरी साउन १ गतेबाटै मासिक एक हजारका दरले वितरण गरिनेछ ।

गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९÷८० का लागि रु ६४ करोड ९८ लाख छ हजार ५७० बराबरको बजेटसहित गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

तपाईको प्रतिक्रिया