पाल्पा बन्यो पूर्ण खोप सुनिश्चितता भएको जिल्ला

तानसेन। पाल्पा जिल्लालाई पूर्ण खोप सुनिश्चितता भएको जिल्ला घोषणा गरिएको छ । जिल्लाका सबै स्थानीय तहले पूर्ण खोप सुनिश्चितता गरेसँगै जिल्लालाई खोप सुनिश्चितता घोषणा गरिएको हो ।

जन्मेदेखि १५ महिनासम्मका सबै बालबालिकाले पूर्ण रूपमा नियमित खोप पाएपछि यहाँका पालिकाहरुलाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा गरिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा.राजेन्द्र गिरी बताए ।

यो अभियानमा १६ देखि २३ महिनासम्मका छुटेका बालकालिकाहरुलाई समेत खोजेर पूर्ण रूपमा खोप सुनिश्चितता गरिएको छ । राष्ट्रिय खोप तालिकाअनुसार जन्मेदेखि १५ महिनासम्मका बालबालिकालाई १३ वटा खोप प्रदान गरिन्छ ।

यसअघि बालबालिकालाई १२ वटा मात्रै खोप प्रदान गरिँदै आएकोमा यस वर्षदेखि टाइफाइडविरुद्धको खोप थप भएको हो ।

जिल्लाका दुई नगर तथा आठ गाउँपालिकाले यी खोप पाउनुपर्ने सबै बालबालिकालाई खोप प्रदान गरेको तथ्यांकका आधारमा एक कार्यक्रमकाबीच प्रदेश सांसद पुरनमान बज्राचार्य, जिल्ला खोप समन्वय समितिका प्रमुख टंकनाथ खनाल तथा स्थानीय तहका प्रमखु र स्वास्थ्य शाखाका प्रमुखहरुलगायतको सहभागितामा जिल्लालाई पूर्ण खोप सुनिश्चितता भएको जिल्ला घोषणा गरिएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी टिकारमा अधिकारीले बताए ।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer