पाल्पाका स्थानीय तहको बेरुजु ३४ करोड, ३१ लाख बढी

तानसेन।पाल्पाका १० स्थानीय तहहरुको बेरुजु ३४ करोड ३१ लाख ३८ हजार रुपैयाँ पुगेको छ । महालेखा परीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७७/०७८ सम्मको लेखापरीक्षण गर्दा बेरुजु ३४ करोड ३१ लाख ३८ हजार भेटिएको हो ।

दुई  नगरपालिका र ८ गाउँपालिका रहेको पाल्पाामा १२ अर्ब ९१ करोड ८४ लाख ४३ हजार रुपैयाँ लेखापरीक्षण गरिएकोमा २ दशमलव ६५ प्रतिशत बढी बेरुजु भेटिएको हो ।

जसमा तानसेन नगरपालिकाको लेखापरीक्षण गरिएको १ अर्ब ९८ करोड ५१ लाख ३२ हजार मध्ये ७ करोड २४ लाख ५५ हजार बेरुजु भेटिएको छ । यस्तै रामपुर नगरपालिकाको १ अर्ब ५५ करोड ७८ लाख ६८ हजार लेखापरीक्षण गर्दा २ करोड ४ लाख १२ हजार, रैनादेवी छहरा गाउँपालिकाको १ अर्ब ३६ करोड ७० लाख २८ हजार लेखापरीक्षण गर्दा १ करोड ९४ लाख ८१ हजार, तिनाउ गाउँपालिकाको १ अर्ब ५ करोड ५१ लाख ७१ हजार लेखापरीक्षण गर्दा ५ करोड ५ लाख ८३ हजार, बगनासकाली गाउँपालिकाको १ अर्ब ९ करोड ८५ लाख ३१ हजार लेखापरीक्षण गर्दा १ करोड ९५ लाख ६७ हजार भेटिएकाे हाे ।

यस्तै निस्दी गाउँपालिकाको १ अर्ब १८ करोड ७४ लाख ८८ हजार लेखापरीक्षण गर्दा ३ करोड ९६ लाख ३४ हजार, पूर्वखोला गाउँपालिकाको १ अर्ब ४ करोड ८५ लाख ७४ हजार लेखापरीक्षण गर्दा १ करोड ३६ लाख ९६ हजार, माथागढी गाउँपालिकाको १ अर्ब १७ करोड ६ लाख ९३ हजार लेखापरीक्षण गर्दा २ करोड ६७ लाख ७३ हजार, रम्भा गाउँपालिकाको १ अर्ब १३ करोड ८ लाख ४ हजार लेखापरीक्षण गर्दा ५ करोड ९८ लाख र रिब्दीकोट गाउँपालिकाको १ अर्ब ३१ करोड ७१ लाख ५४ हजार लेखापरीक्षण गर्दा ३ करोड ६ लाख ३७ हजार बेरुजु रहेको पाईएको छ ।

लेखापरीक्षण रकमको आधारमा सबैभन्दा धेरै रम्भा गाउँपालिकामा ५ दशमलव २९ प्रतिशत र सबैभन्दा कम रामपुर नगरपालिका र पूर्वखोला गाउँपालिकामा १ दशमलव ३१ प्रतिशत बेरुजु पाईएको महालेखा परीक्षकको कार्यालयले जनाएको छ ।

स्थानीय तहले पूर्वतयारी बिनाका आयोजना बजेटमा समावेश गरेको, आयोजनाको प्राथमिकीकरण गरी आयोजना बैंक बनाउने कार्य प्रभावकारी नभएको, कानूनले तोकेको सीमा नाघी रकमान्तर गरेकोलगायतका सुधार गर्नुपर्ने विषय प्रतिवेदनमा उल्लेख गरिएको छ ।

तपाईको प्रतिक्रिया