श्रीनगरको व्यवस्थापन गर्न नगरपालिकाले गर्यो कर्मचारी परिचालन

पाल्पा।नयाँ आर्थिक वर्षको सुरूवातसँगै तानसेन नगरपालिकाले श्रीनगर पर्यापर्यटन क्षेत्र आँफै व्यवस्थापकीय कार्य अगाडी बढाएको छ । श्रीनगर क्षेत्रमा वृक्षारोपण तथा सरसफाइ गरी कार्यक्रमको सुरूवात गरिएको हो ।

श्रीनगर क्षेत्र पाल्पा जिल्लाको गहना भएको भन्दै यसको व्यवस्थापकीय कार्य सुधार गर्न सके आन्तरिक पर्यटकहरूको संख्यामा उल्लेख्य सुधार हुने पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले बताए। जसका लागि प्राकृतिक रूपमा सुन्दर क्षेत्रलाई सोही अनुकुल व्यवस्थापन गर्नु आवश्यक रहेको प्रजिअ पन्तले बताए ।

तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले तानसेन नगरपालिकाले अन्य क्षेत्रलाई व्यवस्थापनको जिम्मेवारी दिँदा केही समस्या उत्पन्न भएको भन्दै यसलाई आँफै व्यवस्थापन गर्ने कार्य सुरूवात गरेको बताए ।

दैनिक राजस्व संकलन, सरसफाई तथा व्यवस्थापकीय कार्य गर्न तत्काल सरसफाई शाखा प्रमुख शंकर भण्डारीको संयोजकत्वमा ६ जना कर्मचारी परिचालन गरिसकेको पनि सोही बखत बताए ।

नगरप्रमुख श्रेष्ठले श्रीनगर क्षेत्रको थप व्यवस्थापनका लागि डिपिआर अनुसार अन्य क्षेत्रसँग सहकार्य गरिने बताए ।

 

तानसेन नगरपालिका उपप्रमुख प्रतिक्षा सिंजालीले जिल्लाभित्र तथा छिमेकी जिल्लाहरूबाट आउने पर्यटकहरूको मन जित्ने गरी श्रीनगर क्षेत्र व्यवस्थापन सुरूवात गरिएको भन्दै सबै नागरिकले श्रीनगरलाई स्वच्छ, सफा र वातावरणमैत्री राख्न सहयोग गर्नु आवश्यक रहेको बताइन् ।

कार्यक्रममा अन्य समाजसेवी र पत्रकारहरुको पनि सहभागीता रहेको थियो ।

तपाईको प्रतिक्रिया