तानसेन।लुम्बिनी प्रदेश सरकारले प्रदेश मातहतका कर्मचारीलाई ५ दिने पर्यटन काज बिदा दिने भएको छ । कर्मचारीको आन्तरिक पर्यटन काज कार्यक्रम (सञ्चालन तथा व्यवस्थापन), (पहिलो संशोधन) कार्यविधि २०७८ जारी गर्दै प्रदेश सरकारले काज बिदा दिने सुनिश्चित गरेको हो ।
प्रदेश सरकार, मूख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जारी गरेको कार्यविधि अनुसार यो प्रावधान चालु आर्थिक वर्ष २०७९/८० अर्थात साउन १ गतेदेखि प्रारम्भ भएको छ ।
यस कार्यविधि अनुसार प्रदेश सरकारका कामकाजमा असर नपर्ने गरी एक पटकमा तीन जनासम्म कर्मचारीलाई भ्रमणमा जान अनुमति दिइने छ । आन्तरिक पर्यटन काज बिदामा जाने कर्मचारीले एक मुष्ट २५ हजार रुपैयाँ भुक्तानी पाउने छन् ।
आन्तरिक पर्यटन काज भ्रमण पूरा गरी कार्यालयमा हाजिर भएको १५ दिन भित्र काजमा जाने कर्मचारीले प्रतिवेदन पेश गर्नुपर्छ । यस्तो विवरणमा कार्यक्रमको विस्तृत विवरण र भ्रमणको क्रममा लिइएका तस्वीर पनि समावेश गर्नुपर्छ ।
कुनै कर्मचारीले आन्तरिक पर्यटन काजमा गएको झुटा विवरण पेश गरी भुक्तानी लिएको पाइएमा निजले लिएको रकमको दोब्बर रकमसम्म तलव र पारिश्रमिकबाट असुल उपर गरिने कार्यविधिमा उल्लेख छ ।
कार्यविधि अनुसार आन्तरिक पर्यटन काज स्वीकृत गराई भ्रमणमा जाने कुनै पनि कर्मचारी सरकारी कामको सिलसिलामा भ्रमणमा गएको मानिन्छ ।
प्राकृतिक विपत्ति, महामारी तथा संक्रामक रोगको कारण हुने लकडाउन, कर्फ्यू, हिमपातका कारण भ्रमण गर्न नसक्ने अवस्था सिर्जना भएमा भने कार्यक्रम रद्द गर्न सकिने कार्यविधिमा उल्लेख छ ।